काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको थप १५ लाख डोज खोपका लागि ग्लोबल एलायन्स (गाभी)लाई औपचारिक पत्र पठाएको छ । सरकारले बिहीबार १५ लाख मात्रा खोपका लागि गाभीलाई पत्राचार गरेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा। सुरेन्द्र चौरासीयाले बातए । उनले भने, ‘यो भन्दा अघिल्लो पटक मगाएको खोप अपुग हुनसक्ने भएका कारण हामीले फेरि थप १५ लाख मात्राका लागि पत्राचार गरेका छौँ ।’
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाले पुस १४ गते बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गर्दै गाभीलाई पत्राचार गरेको थियो । उक्त खोप फेब्रुवरीको पहिलो हप्ता नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले बताए ।
उनले भने,‘अहिले हामीले नयाँ खोपका लागि लेटर पठाइसकेका छौँ । यो भन्दाअगाडि मगाएको खोप फेब्रुवरी ३ मा नेपाल आइपुग्ने भनिएको छ। ’ अहिले सरकारसँग ४० लाख मात्रा खोप ‘स्टक’मा रहेको डा। चौरासीयाले बताए । उनले भने,‘अहिले हामीसँग ४० लाख खोप बाँकी छ । हामीले मगाएको खोप आएपछि खोप लगाउन सुरु गरिने छ ।’
कोरोना भाइरसको संक्रमण कम भएसँगै खोप लगाउनेको संख्यामा कमी आएका कारण बुस्टर डोजकै लागि कति खोप लाग्न सक्छ भन्ने कुनै तथ्याङ्क भने सरकारसँग नभएको उनी बताउँछन् ।













