सुर्खेत – सुर्खेतको भेरी नगरपालिका- ६ की भद्रकला विकले छोरासँग मिलेर आफ्नै पतिको हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ ।
२०७४ साल ३० पुसमा सिस्नेकी भद्रकलाले लाठी हानेर ४७ वर्षीया काले विकको हत्या गरेकी थिइन् । भद्रकलासहित छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घरनजिकै शौचालयमा पुरिदिएको प्रहरीले जनाएको छ ।
अनुसन्धान बढाउँदा कालेको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजरकोटका डीएसपी सन्तोष निरौलाले बताए । शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयको खाडल उत्खनन् गर्दा शव भेटिएको थियो ।
प्लाष्टिकको डोरीले बाँधेको अवस्थामा मृतकको पाइन्ट र ज्याकेटसहितको अस्थिपञ्जरमात्र फेला परेको प्रहरीले बताएको छ । भद्रकला र उनका छोरा तुल्सीरामलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।














