धनगढी- महशुल नतिरेको भन्दै विद्युत प्राधिकरणले मालपोत कार्यालय कैलालीको विद्युत लाइन काटेको छ । प्राधिकरणको धनगढी वितरण केन्द्रले विहान ११ बजेतिर विद्युत लाइन काटेको जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले बताए । मालपोत कार्यालय भवनका दुईवटा मिटर मध्ये माथिल्लो तलाको लाइन काटिएको उनले बताए ।
उनका अनुसार विद्युतलाई २३ हजार विद्युत महशुल बुझाउनुपर्ने छ । बजेट नै नभएका कारण महशुल बुझाउन बाँकी रहेको कार्यालय प्रमुख केसीले बताए । लाइन काटिएपछि बजेटको व्यवस्था नहुन्जेलसम्मका लागि विद्युत प्राधिकरणलाई लाइन जोडिदिन अनुरोध गरिएको उनले बताए ।
बजेट अभावमा महशुल बझाउन नसकिएको भन्दै कार्यालय प्रमुख केसीले त्यसका लागि धनगढी उपमहानगरसहित विभिन्न स्थानीय तहसंग बजेट व्यवस्थापनका लागि माग गर्ने बताए । ‘कार्यालयसंग बजेट छैन,’ उनले भने, ‘बजेट व्यवस्थाका लागि धनगढी उपमहानगरसहित विभिन्न स्थानीय तहसंग माग गरेका छौं ।’
प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले निश्चित समय भित्र महशुल नतिर्ने ग्राहको लाइन काटिएको बताए । उनले निश्चित समयमा महशुल तिर्ने शर्तमा मालपोत कार्यालयले पत्र लेखेर पठाए लाइन जोडिने बताएका छन् । महशुल नतिर्ने ग्राहकको लाइन काट्ने टीम छुट्टै भएकाले कुन ग्राहकको कहाँ कतिखेर लाइन काटियो भन्ने आफूलाई तत्काल थाहासमेत नहुने उनले बताए ।
विद्युत लाइन काटिएपछि मालपोत कार्यालय पुगेका ग्राहकलाई समस्या भएको छ । माथिल्लो तलामा हुने काम पनि तल्लो तलामा रहने कर्मचारीले गर्नुपर्ने भएकाले घुइँचो भएको छ ।
मालपोत कार्यालय प्रमुख केसीले लाइन जोड्दासम्म तल्लो तलाबाट केही ढिलो भएपनि ग्राहकको काम नरोकिने बताए । महशुल नबुझाएको भन्दै केही महिना अघि पनि प्राधिकरणले मालपोत कार्यालयको विद्युत लाइन काटेको थियो ।














