काठमाडौं- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन् । मंगलबार बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत समाजवादीमा नरहने निश्चित भएको हो ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यौपाने र जंगलीको राजीनामा स्वीकृत गरिएको बताए । दुबै जनाले मकवानपुरको एक कार्यक्रममा एमाले फर्किन थालेको भन्दै तस्वीर सार्वजनिक गरेका थिए ।
तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए। उनी एमालेसँग मिल्नुपर्ने लाइनमा अभिव्यक्ति दिँदै आएका थिए ।













