काठमाडौं- भारतबाट पेट्रोल पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले १५–१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार यसपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो।
नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १ रुपैयाँ ७४ पैसा र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसाले मूल्य घटेर आएको छ। निगमलाई यसले अबका दिनमा निकै नाफा हुने देखिएको छ।
यसअघि नै पेट्रोल, डिजल र हवाई इन्धनमा निगमलाई नाफा छ। पछिल्लो समय ग्यासमा प्रति सिलिन्डर ३३८ रुपैयाँले मूल्य बढेर आएका कारण इन्धनमा भएको नाफा ग्यासको घाटा परिपूर्ति गर्न व्यवस्था मिलाइएको थियो।
अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ। यो मूल्यमा कारोबार भइरहँदा निगमलाई पछिल्लो १५ दिनमा लगभग ६० करोड नाफा छ।
निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ। नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएसँगै अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ हाराहारी नाफा हुने देखिएको छ।
आफ्नो नोक्सान बढ्छ भन्दै मूल्य बढाउने मामिलामा निगम व्यवस्थापन हतारिने गरेको छ। तर, घटाउने मामिलामा कि उपभोक्ताले सडकबाट दबाब दिनुपर्छ, नत्र सरकारले नै हस्तक्षेप गर्नुपर्छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बैंकिङ प्रणालीमा आएको समस्याले ठूलो मात्रामा कच्चा तेलको मूल्यमा गिरावट आएको थियो। त्यसैले रिफाइनरी गर्ने कम्पनीहरुको पनि लागत कम आएको र नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेर आएको निगमका अधिकारीहरुको भनाइ छ।
व्यवसायीहरुको मागअनुसार निगम डिजलको बिक्री मूल्य लिटरमा ५ देखि १० रुपैयाँसम्मले घटाउने तयारीमा रहेको एक कर्मचारीले बताए। निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आइओसी र सरकारलाई ऋण गरेर १६ अर्ब तिर्नुपर्ने थियो। उक्त बक्यौता हाल घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ।
निगमले पछिल्लो आफ्नो नाफाबाट आईओसीलाई तिर्नुपर्ने बक्यौता घटाउदै लगेको छ। ती कर्मचारीका अनुसार निगमले नाफा राख्यो भनेर चारैतिरबाट मूल्य घटाएर जनतालाई राहत दिन दबाब पनि आइरहेको छ।














