विराटनगर- वातावरण पत्रकारितामा सक्रिय पत्रकार लक्ष्मीप्रसाद उपाध्याय पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तर तह आम सञ्चार तथा पत्रकारिता विषयमा गोल्ड मेडलबाट दिक्षित भएका छन् ।
आम सञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर तहमा सर्वोकृष्ट अंक प्राप्त गरेका उपाध्यायले विश्वविद्यालयद्वारा प्रदान गरिने ओम प्रकाश गोयल गोल्ड मेडल प्राप्त गरेका छन् ।
प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले आइतबार विराटनगरमा आयोजित विश्वविद्यालयमा ११ औँ दिक्षान्त समारोह उपाध्यायलाई दिक्षित गरेका हुन् ।
उपाध्याय विगत दुई दशकदेखि वातावरण, ऊर्जा, संरक्षण तथा विकासका क्षेत्रमा कलम चलाउँदै आएका छन् । विशेष गरी जलवायु परिवर्तनले नेपालमा पारेको असरका विषयमा बिभिन्न अध्ययन, अनुसन्धान तथा लेखनमा सक्रिय उपाध्यायले जलवायु अनुकुलन, स्वच्छ ऊर्जा, हरित रोजगारी, शहरी विकास र बसाई सराईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका छन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनको नेदरल्याण्ड, जर्मन, पोल्याण्ड, स्पेन, बेलायत तथा आइयूसिएन विश्व सम्मेलन फ्रान्समा नेपालबाट प्रतिनिधित्व गरिसकेका उपाध्यायले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको आर्थिक प्रभाव र त्यसले तल्लो तटीय क्षेत्रमा पार्न सक्ने असरका विषयमा दर्जनौँ अध्ययन अनुसन्धान टोलीको सदस्य भएर काम गरेका छन् ।
वन तथा वातावरण मन्त्रालयको मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यदलमा रहेर काम गरिसकेका उपाध्यायलाई नेपालमा बाघको संख्या दोब्बर भएको अवसरमा गत वर्ष प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय बाघ संरक्षण समितिले समेत सम्मान तथा पुरस्कृत गरेको थियो ।
राष्ट्रिय वातावरण पत्रकारिता पुरस्कार, राष्ट्रिय वन्यजन्तु संरक्षण पत्रकारिता पुरस्कारबाट सम्मानित भएका उपाध्यायले जैविक विविधताको संरक्षण सम्बन्धी क्यानडामा आयोजित विश्व सम्मेलनमा नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका छन् ।















