काठमाडौंं- फिल्म ‘बुलाकी’ आइतबारदेखि हलबाट हटाइएको छ । शुक्रबार एक साथ तीन फिल्मसँग प्रदर्शनमा आएको फिल्मलाई कम सो दिइएको भन्दै निर्माण टिमले हलबाट ‘बुलाकी’ हलबाट उतारेको हो ।
निर्देशक लक्ष्मण सुनारले हलबाट फिल्म हटाइएको जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुलाकी चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं । हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं ।’
उनले कर्णाली र सुदूरपश्चिमको कथा वस्तुलाई समेटिएर बनाइएको चलचित्रलाई काठमाडौंले अवहेलना गरेको बताएका छन् । फिल्मको राम्रो प्रतिक्रिया हुँदाहँदै हल व्यवसायीले अबहेलना गरेको, प्राप्त सबै सो अफटाइमको दिइएको, मोफसलका मुख्य स्टेशनमा १ सो पनि नदिइएको, चलचित्र प्रदर्शन भएको दोस्रो दिनबाटै ७० प्रतिशत सो कटौती गरिएको अनि अग्रिम बुकिङमै फिल्मलाई न्यून सो उपलब्ध गराएको कारण देखाउँदै चलचित्र हटाएको निर्देशक सुनाले बताए ।
यसै पनि काठमाडौंले अबहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यवहार दोहोर्या्एको छ,’निर्देशक सुनारले लेखेका छन्,’यो बीचमा नयाँ मेकरको रूपमा पाइला राख्दा पहिलो पाइलामै साथ, सहयोगसहित हौसला प्रदान गर्नुहुने यहाँ सम्पूर्णमा कृतज्ञ छौं । फिल्ममार्फत देश, समाज र माटो बोल्ने अझै धेरै कथा लिएर दर्शकमाझ आउनेछु । म थाकेको मात्र हुँ हारेको छैन ।’ उनले चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक/चौतारासमेत देखाइने बताएका छन् ।
निर्माण टिमले फिल्म हटाउने निर्णय लिएको उल्लेख गर्दै ‘बुलाकी’की प्रमुख अभिनेत्री सुरक्षा पन्तले लेखेकी छिन्,’बुलाकीलाई बिट मार्ने निर्माण पक्षको निर्णय भएको छ । आवश्यक परे अरु कुनै माध्यमबाट हेर्ने माहोल मिलाउने छौं । हरेर साथ दिनुहुने सबैलाई धन्यवाद।’
यसअघि सुवर्ण थापा निर्देशित ‘राधा’लाई पनि कम सो दिइएको भन्दै हलबाट निर्माण टिमले हटाएका थिए ।















