धनगढी – विप्लव नेतृत्वको विद्यार्थी भातृसंगठन अखिल (क्रान्तिकारी) ले धनगढी उपमहानगरपालिकाको विद्यालयहरुको कक्षा ८ को विद्यार्थीको भविष्य नै अन्योल हुने गरि परीक्षाफल प्रकाशन गरेकोप्रति ध्यानकर्षण भएको जनाएको छ । बुधबार सरोकारवाला सबै पक्षलाई सचेत गराउन र समस्याको सहि निकासको लागि क्रान्तिकारीले विभिन्न माग सहितको ध्यानकर्षणपत्र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई बुझाएको हो ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारको निम्ति विशेष योजना बनायर कडाइ पुर्वक लागु गर्नुपर्ने, शिक्षा क्षेत्रमा हुने गरेको शिक्षक, कर्मचारी नियुक्ति सरुवा बढुवा लगायत राजनीतिक भागबन्डाको अन्त्य गर्नुपर्ने, शिक्षा क्षेत्रमा लगानी बृद्धि गर्नुका साथै पालिकाभित्रका सबै विद्यालयहरुलाई समानुपातिक ढङ्गले पुर्वाधार विकास गर्न जोडदिनुपर्ने साथै विद्यालयको भौतिक र शैक्षिक विकाशमा राजनीतिक भौगोलिक र सामाजिक हिसाबले पुर्वाग्रह गर्ने काम बन्द गर्न माग गरिएको छ । यस्तै, विद्यालयमा आवश्यक दरबन्दी कायम गर्नुका साथै शिक्षकलाइ तालिमको व्यवस्था गर्नुपर्ने, निजि विद्यालयको नियमन,अनुगमन तथा मुल्यांकन गरि मापदण्ड अनुरुप वर्गीकरण गर्नुपर्ने, सामुदायिक विद्यालयमा सुक्ष्म अध्ययन, अनुगमन गर्नुपर्ने, अंग्रेजी पाठ्यक्रम तथा सहयोग शूल्कको नाममा सामुदायिक विद्यालयले लगाएको शुल्क तत्काल खारेज गर्नुपर्ने, एउटा कक्षामा अनुत्तीर्ण भएको विद्यार्थीलाई सोही कक्षामा अध्ययन गर्दा कुनैपनि शुल्क नलिई अध्यापन गराउनुपर्ने मेयर हमाललाई बुझाएको ध्यानकर्षपत्रमा उल्लेख गरेको छ ।
त्यस्तै गरी, बर्ष भरी अध्यापन गराउदा कोर्स पूरा नगरी ट्युसन कक्षाका नाममा मनोमानी शुल्क असुली २्३ महिनामा कोर्ष पूरा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने दर्ता नभएका तथा मापदण्ड नपुगेका शैक्षिक संस्थाका नाममा गरिने ब्यापारलाई कानूनी कारबाही गर्नुपर्ने निजि तथा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको उचित पारिश्रमिक देखिने गरि कायम गर्नुपर्ने, विद्यार्थीले पाउने १० प्रतिशत छात्रवृत्ति कडाइ पुर्वक कार्यान्वयन गरिनुका साथै छात्रालाई विद्यालयमा निशुल्क सेनिटरी प्याडको ब्यवस्था गर्न माग गरेको छ ।
निजि शैक्षिक संस्थामा लगाइएका पब्लिकेसन्सका पाठ्यपुस्तकको गुणस्तर अध्ययन गर्नुपर्ने, विभिन्न वहानामा कमिसनको प्रलोभनमा बन्द गरिएको विद्यार्थी अभिभावकले पाठ्यपुस्तकमा पाउने सहुलियत अध्ययन गरि कायम गर्नुपर्ने, विद्यार्थी अभिभावकको ढाड सेक्ने गरि मुल्य वृद्धि गरिएको बिद्यालय पोसाक पाठ्यपुस्तक आदि बिषयको अध्ययन गरि समायोजन गर्नुपर्ने, जिम्मेवार तथा सरोकारवाला सबै निकायलाइ राखेर समय–समयमा सामुदायिक तथा निजि बिद्यालय बिच अन्तरक्रिया गोष्ठीको ब्यवस्था गर्नुपर्ने, शैक्षिक क्षेत्र सुधारका लागि राम्रो कार्य गर्ने बिद्यालय,शिक्षक,विद्यार्थीलाई हौसला स्वरुप उचित पुरुसकारको ब्यवस्था गर्नुपर्ने, मापदण्ड विपरित सञ्चालित निजी शिक्षण संस्था तथा ट्युसन सेन्टर खारेज गरी नयाँ अनुमति दिने कार्य बन्द गर्नुका साथै ट्युसन सेन्टरहरुले मनोमानी रुपमा असुलिरहेको शुल्कको अनुगमन गर्नुपर्ने, विद्यालयहरुलाई दिईने शेवा र लाग्ने शुल्क नागरिक वडापत्रमा देखिने गरि अनिवार्य रुपमा राख्ने व्यवस्था गर्नुपर्ने, राज्यले घोषणा गरेबमोजिम आधारभुत र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निशुल्क पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र शिक्षा क्षेत्रमा हुने गरेको भ्रष्टाचार, अनियमितता र दलालीकरणको अन्त्य गर्न माग गरिएको छ । आफुले राखेका मागहरु मागहरु तत्काल सुनुवाई नभएमा कडा संघर्ष गर्न बाध्य हुने अखिल क्रान्तिकारी कैलालीका इन्चार्ज महेश पातलीले बताएका छन् ।













