काठमाडौँ- चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
लामिछानेले आचारसंहिताविपरीत कार्यहरु गरेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् ।
चितवन कांग्रेसका सभापति राजेश्वर खनालले लामिछानेले खुलेआम आचारसंहिता उल्लंघन गरेपछि बाध्य भएर आयोगमा उजुरी गर्नुपरेको बताए ।
‘उहाँबाट आचारसंहिताको धज्जी उडाउने काम भएको छ । यहाँ सबैले देखेका छन् । सर्वदलीय बैठकमा उम्मेदवारले दुई वटामात्रै गाडी प्रयोग गर्ने सहमति भएको थियो । तर उहाँले १२/१४ वटासम्म गाडी प्रयोग गर्नुभयो,’ खनालले भने, ‘त्यतिमात्रै होइन, सडकमा पेन्टिङदेखि मतदानका बेला घन्टी बजाउँदै, नारा लगाउँदै मतदान केन्द्रमा घुम्ने र मतदातालाई प्रभावित पार्ने काम भयो । यस्तो खुलेआम आचारसंहिताविपरीत गरेपछि बाध्य भएर हामीले उजुरी दिएका हौं ।’
आइतबार मतदान भइरहेका बेला लामिछाने भोजाडको नयाँकिरण माध्यमिक विद्यालय मतदान केन्द्रमा पुग्दा आचारसंहिता उल्लंघन भएको भन्दै विवाद भएपछि दुई घन्टासम्म मतदान स्थगित भएको थियो ।
सो केन्द्रमा भएको सर्वदलीय बैठकमा रास्वपाका प्रतिनिधिले आचारसंहिता उल्लंघन भएको स्वीकार गरेका थिए । रास्वपालाई कारबाहीका लागि सिफारिस गर्ने सहमतिपछि मात्रै मतदान पुनस् सञ्चालन भएको थियो ।













