धनगढी- कैलालीको मोहन्याल गाउँपालिकाले अस्थायी रूपमा सम्पर्क कार्यालय घोडाघोडी नगरपालिका–१ सुखडमा स्थापना गरेको छ । वर्षा सुरु भएसँगै गाउँपालिकाको कार्यालय जाने बाटो अवरुद्ध भएको र केही असहजताका कारण केही दिनको लागी सम्पर्क कार्यालय स्थापना गरिएको पालिकाले जनाएको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाको काम प्रभावित हुन नदिन केही दिनको लागी अस्थायी रूपमा कार्यालय सुखडमा राखिएको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।
आर्थिक वर्षको मसान्तसम्म भएका विकास तथा अन्य कार्यक्रमहरूको भुक्तानी दिन अस्थायी रूपमा कार्यालय स्थापना गरिएको उनले बताए । असार १८ गते देखी २४ गते सम्म मात्रै अस्थायी रूपमा कार्यालय सुखडमा रहने पालिकाकाले जानकारी दिएको छ । सबै काम गर्ने भनेर सुखडमा कार्यालय नराखिएको र आर्थिक मसान्त सकिए लगत्तै सुखडमा राखिएको कार्यालय बन्द हुने बताइएको छ ।
मोहन्याल गाउँपालिकाले प्रत्येक वर्ष आर्थिक वर्ष सकिनै लाग्दा भुक्तानीको लागी घोडाघोडी नगरपालिका–१ सुखडमा सम्पर्क कार्यालय स्थापना गर्ने गरेको छ । अहिले गाउँपालिकाको स्थायी कार्यालय रहेको खिमडी जाने बाटो वर्षातका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको छ ।













