बाजुरा– नेपालको पहिलो महिला टेलिभिजन च्यानलको रुपमा नारी टेलिभिजन एचडीले असार २० गतेबाट बुधवार आफ्नो प्रसारण प्रारम्भ गरेको छ । नारीहरुको नसुनिएका कथा, नारी उत्पीडनको व्यथा, समाजका नारीहरुको भुमिका र महत्व, समाज परिवर्तनमा नारीहरुको अग्रसरता आदि कुराहरुलाई नारी टिभीले आफ्नो मुख्य विषयवस्तु बनाउने उद्देश्य राखेको छ ।
बाजुराको बुढीगंगा नगरपालिका–१० मा वृहत कार्यक्रम आयोजना गर्दै टेलिभिजन औपचारिक रुपमा प्रसारणमा आएको हो । करिब १ लाख ३४ हजार ९०० जनसंख्या रहेको सुदुरपश्चिमको बाजुरामा उद्घाटन समारोहका बीच त्यहाँ रहेका १५ जना एचआईभी पीडित महिलाहरुलाई खाद्यान्नसंगै तीन महिनाका लागि प्रोटिन डाईट औषधीसंगै १०० जना एकल महिलाहरुलाई दैनिक उपभोग्य खाद्यान सामाग्रीहरु वितरण समेत गरिएको छ ।
उद्घाटन समारोहमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृह मन्त्री रवि लामिछानेले टेलिभिजनको भिडहरुमा नारी टिभीले फरक उद्देश्य र महत्व राख्ने बताए ।
‘यो टेलिभिजनको सञ्चालक मेरी श्रीमती हुनुहुन्छ, नीकिता पौडेल । उहाँ मिडिया सम्बन्धी अध्ययन विदेशमा गरी १४ वर्ष अघिदेखि नेपाली फिल्म क्षेत्रको श्रीवृद्धीमा समर्पित टेलिभिजन च्यानल टिभि फिल्मी सञ्चालन गरिरहनु भएको थियो । र, अब महिलाहरुको आवाज बोल्नु पर्छ, समाज रुपान्तरणमा महिला सहभागिता अपरिहार्य देखिएको भन्दै नारी टेलिभिजन संचालनमा ल्याउनु भएको छ । समस्त नारीहरुको आवाज बन्न सकोस्, शुभकामना छ ।’
टेलिभिजनले प्रसारण प्रारम्भ गरेसंगै माईतीघर तथा आजको नारी नामक कार्यक्रम प्रसारण थालनी गरेको छ भने नारी समाचार पनि प्रसारणमा आएको छ । विशेषत महिलाहरुका हक–हित, अधिकारका निमित्त नारी टिभी सदैव क्रियाशिल रहने अध्यक्ष निकिता पौडेलले प्रतिवद्धता व्यक्त गरेकी छिन् । अध्यक्ष पौडेलले टिभी फिल्मीले प्राप्त गरेको दर्शकहरुको मायालाई आत्मसाथ गर्दै नारीहरुको आवाजका रुपमा पहिलो महिला सम्बन्धि टेलिभिजन प्रसारणमा ल्याउन पाउनु आफ्नो भाग्य ठानेको सुनाइन् ।
‘नारी टेलिभिजनमा यसका विषयवस्तु मात्र हैनन्, यहाँ कार्यरतहरु सम्पूर्ण सञ्चारकर्मी तथा प्राविधिकहरु पनि महिलाहरु नै हुनुहुन्छ । जसले गर्दा नारी टिभी सम्पूर्ण महिलाहरुप्रति समप्रित रहेको छ, पौडेलले बताइन् ।













