धनगढी- कैलालीको टीकापुरमा दुई जना युवकमाथि खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताए। उनका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो।
प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उनले बताए। शाह ग्रुप नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ। थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।













