कैलाली- कैलाली र कञ्चनपुरका विभिन्न ठाउँबाट प्रहरीले एकै दिन लागु औषधमा संलग्न ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले टीकापुर नगरपालिका–९ खक्रोला पुल नजिकबाट दुई मिलिग्राम लागु औषधसहित टीकापुर नगरपालिका–१ का २४ वर्षीय आवास भट्टराई र सोही स्थानका २५ वर्षीय जीवन रावललाई शनिवार साँझ पक्राउ गरेको छ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।त्यस्तै धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट ६५० मिलिग्राम लागु औषधसहित गोदावरी नगरपालिका–८ का २१ वर्षीय विवेक चौधरी शनिवार साँझ नै पक्राउ परेका छन् ।
सोही स्थानबाट ११० मिलिग्राम लागु औषधसहित गोदावरी नगरपालिका–१ का २१ वर्षीय संजय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई समेत शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले तीनै जनालाई लागु औषधसहित पक्राउ गरेको हो ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदाबाट एक दशमलव २० ग्राम लागु औषधसहित धनगढी उपमहानगरपालिका–३ मिलन चोकका २८ वर्षीय प्रदिप पाख्रिन र धनगढी उपमहानगरपालिका–१ का ३३ वर्षीय विकल मगर शनिवार साँझ पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुवै जनालाई लागु औषधसहित पक्राउ गरेको हो ।
मोटरसाइकलको हेडलाईट प्लक र इन्जिन प्लकभित्र लागु औषध लुकाई राखेको अवस्थामा लागु औषध फेला परेपछि मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पनि शून्य दशमलव २५ ग्राम लागु औषधसहित बेदकोट नगरपालिका–२ बसन्थलाका २७ वर्षीय धिरेन्द्र रावल र सोही स्थानका ३० वर्षीय ईश्वर चटौतलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ ।













