काठमाडौं- एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न ठाउँमा ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन ९बीटीएस० अर्थात मोबाइल टावरहरु जडान गरेको छ ।
यी टावरहरु गत आर्थिक वर्ष २०७९/०८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् । फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरू पर्दछन् ।
यसरी पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाकाहरु, र इनरुवा नगरपालिकाका नयाँ स्थानलगायतका ठाउँ रहेको कम्पनीको भनाइ छ ।
गत आवमा नै एनसेलले आफूले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २८३ नयाँ टावरहरु जडान गरेको जनाएको छ । यी मोबाइल टावरहरु सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको थियो । लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेश प्रदेशलगायतका स्थानमा अधिकांश साइट जडान भएका छन् ।
एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झण्डै १,४५० मोबाइल टावरहरुको स्तरोन्नती पनि गरेको छ । यसरी स्तरोन्नती गरिएका टावहरुहरु मध्ये ७८० भन्दा बढि विभिन्न नगरपालिकामा स्थापना गएिका टावरहरु पर्दछन् । त्यसैगरी गाउँपालिका स्तरमा जडित ४४० बढी टावरहरुको स्तरोन्नती गरिएको छ ।
यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नती गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको छ । फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन ९भोल्टे० सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलका चार हजार भन्दा बढी फोरजी टावरहरु सञ्चालनमा छन् ।













