धनगढी– बाजुरामा मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बुढीगंगा नदीमा आएको बाढीले चारवटा घर बगाएको छ । जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा बाढीले घर बगाएको हो ।
प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ । घर बगाउँदा चार परिवार नै विस्थापित भएका छन् ।
विस्तापित परिवारलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घटनास्थलबाट उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ । प्रहरीका अनुसार चार परिवारका २३ जनाको उद्धार गरिएको छ । बाढी आएपछि स्थानीयले राति नै बस्तुभाउलाई अन्यत्र सारे पनि घरका केही सामान भने सार्न पाएनन् । स्थानीयका अनुसार बाढीले घर अगाडिका खेतहरुसमेत बगाएर लिएको छ ।














