काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । बुधबार बिहान मन्त्री किरातीका बुवा हर्कबहादुर राईको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनी ७६ वर्षका थिए । १४ वर्षदेखि पक्षघातका बिरामी रहेका हर्कबहादुरको उपचारका क्रममा बुधबार बिहान पौने ५ बजे निधन भएको हो ।
मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा बुवाको निधन भएको जानकारी दिँदै लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छातीभित्र । ‘
हर्कबहादुरको इच्छाबमोजिम अन्तिम संस्कारका लागि शव भोजपुर लैजाने तयारी रहेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले हर्कबहादुर राईको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दु:खको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’
बिरामी अवस्थामा रहेका हर्कबहादुर राईले छोरा सुदन मन्त्री बन्ने भएपछि ‘हाम्रो वंशमा वडाध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू’ भनेका थिए । मन्त्री बन्नुभन्दा केही समयअघि सुदनले बुवासँगको संवाद सार्वजनिकसमेत गरेका थिए ।













