धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले गौरा पर्व मनाएको छ। विरुडा पञ्चमीबाट सुरु भएको गौरा आज अष्टमीको दिन गौरा महेश्वरको पूजा गरेर मनाइने कार्यक्रम राखिएको हो। पाठशालाले आयोजना गरेको गौरा पर्व तथा डेउडा खेल, २०८० मा विद्यार्थी, अभिभावक र संस्कृति प्रेमीहरूको सहभागिता रहेको छ।
चैतन्य पाठशालाले शिक्षासँगै संस्कारको संस्कृतिको पहिचान र प्रवर्द्धन गर्ने उदेश्य राखेकाले यो वर्षबाट गौरा पर्व मनाउन थालिएको विद्यालयका सह–प्रधानाध्यापक कटकबहादुर सिंहले बताए।
‘विद्यालयमा विद्यार्थीहरूलाई मौलिक चाडपर्व बारे जानकारी गराउन गौरा पर्व मनाउन थालेका हौँ। डेउडा र गौराको मैलिकतालाई जीवन्त राख्न र संस्कृतिलाई संरक्षण गर्न विद्यालयले गौरा मनाउन थालेको हो,’ सह–प्रधानाध्यापक सिंहले भने।
सुदूरपश्चिमको मौलिक र सांस्कृतिक पर्व गौरा मनाउन र डेउडा खेल्न विद्यालयका अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटी रहेका थिए।
कार्यक्रममा विद्यालयका निर्देशक हरि जोशी, प्रधानाध्यापक, शिक्षक–शिक्षिका र संस्कृति प्रेमी सर्वसाधारणको उपस्थिति रहेको थियो।













