धनगढी– कैलालीको टीकापुर अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ,प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको आयोजनामा बिरामीहरु लाई फलफूल वितरण गरिएको हो ।
फलफूल वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रण बहादुर रावल रहेका थिए । कार्यक्रममा बोल्दै मन्त्री रावलले वि।पीको विचारलाई अनुसरण र आत्मसात् गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका थिए ।
वि.पी.ले देखाएको बाटोमा हिँड्न सके र उहाँको विचार हाम्रो भाषणमा मात्र सीमित नभई व्यवहारमा उतार्न सकियो भने त्यो नै उहाँप्रति साँचो अर्थमा श्रद्धा सुमन हुने उनले बताए ।
‘राष्ट्रियता,लोकतन्त्र र समाजवाद’ आदर्श सहित सुदृढ कांग्रेस,रुपान्तरणित कांग्रेस र उज्ज्वल भविष्य बोकेको कांग्रेस निर्माणमा नेतृत्वलाई देख्न सकियोस् भनेर सम्पूर्ण कांग्रेसजनमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका विभिन्न अग्रज व्यक्तिहरू तथा नेपाल विद्यार्थी संघका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
















