धनगढी- विद्यालय शिक्षा विधेयकको विरोध गर्न काठमाडौँ गएका शिक्षकहरू प्रदर्शनमा छन्। ३ असोजदेखि काठमाडौँमा प्रदर्शन गर्दै आइरहेका शिक्षकहरू माइतीघर मण्डलमा जम्मा भएर नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै आइरहेका छन्।
यस क्रममा बझाङका एक जना शिक्षकको भिडिओ सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेको छ । बझाङको केदारस्युँ गाउँपालिका–४ स्थित रत्न माध्यमिक विद्यालयका मावि राहत शिक्षक इन्द्रबहादुर मल्लको भिडिओ सामाजिक सञ्चालनमा भाइरल भएको छ।
शिक्षकको आन्दोलनमा सहभागी हुन बझाङबाट काठमाडौँ पुगेका मल्ल गोंगबुमा मदिराले लट्ठ अवस्थामा भेटिएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका हुन्।
भाइरल भिडियोमा विद्यालय शिक्षा विधेयकको विरोध गर्न काठमाडौँ पुगेका मल्ल शिक्षक पोशाकमै मदिराले लट्ठ देखिएका छन्। घाँटीमा शिक्षक परिचयपत्र (आइडी कार्ड) भिरेका मल्ल सुर्ती माड्दै लट्ठिएको देखिएका छन्।
उनी भन्छन्, ‘शिक्षकहरूको आन्दोलन होइन, डिमान्ड हो, माग हो।’स्थानीयसँग कुरा गरिरहँदा उनले सुर्ती माडेर मुखमा राख्छन्। एक महिलाले घाँटी झुण्ड्याएको आइडी कार्ड हेरेपछि मल्ल सरको परिचय खुल्छ। ‘मल्ल सर’ दिउँसै मदिराले लट्ठ भएको अवस्थामा भेटिएका हुन्।
एक स्थानीयले उनको घाँडीमा झुण्ड्याएको आइडी कार्ड हेरेपछि उनी बझाङको भएको खुल्न गएको हो।शिक्षा विधेयकविरुद्ध आज पनि शिक्षकहरूले आन्दोलन गरेका छन्। उनीहरूले आज पनि काठमाडौँको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्।













