कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी र बेलौरीबाट लागू औषधसहित ६ जना पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका–४ बैवाह कालिपुलियाबाट एक दशमलव ९३० ग्राम अवैध लागू औषध खैरो हेरोइन सहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका–२ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका–५ बस्ने १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाँटा नगरपालिका–११ बस्ने २३ वर्षीय अर्जुन रावत रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले साइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसै गरी, बुधवार साँझ कञ्चनपुरकै बेलौरी नगरपालिका–७ पौलाहबाट ७७ मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २९ वर्षीय पुरुषोत्तम राना, २२ वर्षीय जयराम राना र बेलौरी नगरपालिका२ गोकुलपुर बस्ने २८ वर्षीय मङ्गल चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१९००७ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।













