बझाङ – बझाङको धार्मिक तीर्थस्थल तपोवनमा पनि यसपालि माघे संक्रान्तिका दिन मेला लागेको छ। तपोवनमा जिल्लाभित्र र जिल्ला बाहिरका भक्तजन आएर पूजा र तातोपानीका कुण्डमा स्नान गरेका छन्।
तल्कोट गाउँपालिका-१ र मष्टा गाउँपालिका-४ को सिमाना सेती नदीमा रहेको धार्मिक स्थलमा आइतबार बिहानैदेखि घुइँचो लागेको छ। तातोपानी कुण्डको पानी उमाले जस्तो हुन्छ र बाफ आउने गर्दछ।
कुण्डमा नुहाएमा चर्म रोग साथै अन्य मनोकामना पुरा हुने मान्यताले तिर्थयात्रु आउने गर्दछन्। यहाँ विवाह, व्रतबन्ध जस्ता कर्मकाण्डका कार्य गर्दा पुण्य मिल्दछ भन्ने मान्यता रहेको छ।
६ बजेपछि स्नान गर्नेको घुइँचो लाग्ने गरेका कारण आफू बिहानै ४ बजे आएर तातोपानीमा स्नान गरी फर्किएको मष्टा-३ वीरबहादुर बाँनीयाले बताए। तपोवन तीर्थस्थलसम्म अहिले तल्कोट गाउँपालिकाले गाडी जाने बाटो र नुहाउन कुण्डहरू महिला,पुरुषका लागि छुट्टाछुट्टै बनाएर सजिलो पारिएको छ।













