धनगढी- गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।
विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले प्रविधि र विभिन्न कुरामा विशेषज्ञता हासिल गरेको जनाउँदै एनआरएनएका अध्यक्ष डा। बद्री केसीले उनीहरुले हासिल गरेको विशेषज्ञताबारे जानकारीका लागि सहकार्य गर्ने बताए । “यहाँ आएर उनीहरुले आफूले सिकेको प्रविधिबारे जानकारी गराउन सक्ने छन्” उनले भने।
एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष केसीले बताए ।
कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौं बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको घोषणा गरेको थियो ।
सो प्लान्टको बिहीबार सामाजिक विकासमन्त्री झपटबहादुर साउदले उद्घाटन गरे । अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठुलो सहयोग भएको भन्दै मन्त्री साउदले धन्यवाद ज्ञापन गरे । उनले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताए ।
मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गरे । उनले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको उल्लेख गर्दै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेको उल्लेख गरे ।
एनआरएनएका अध्यक्ष केसीले अक्सिजन अभाव हुने समस्याको दीर्घकालीन समाधान अक्सिजन प्लान्ट रहेकाले त्यसका लागि आफ्नो संस्थाले सहयोग गरेको बताए । कोरोना महामारीको बेला नेपाल सरकारलाई दुई हजार ५०० अक्सिजन कन्सनट्रेटरसमेत सहयोग गरेको उल्लेख गर्दै उनले त्यसबाट धेरैको ज्यान जोगिएको धारणा राखे ।
“हामी विश्वको विभिन्न देशमा छरिएर रहे पनि हाम्रा आमाबुबा, बालबच्चा नेपालमै छन् । त्यसैले नेपालको लागि केही गर्नुपर्छ भनेर नेपालीले नेपालीका लागि गरौं भन्ने भावनाका साथ सहयोग गरेका हौं” अध्यक्ष केसीले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि पनि सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
सेतीमा स्थापना भएको प्लान्टले एक घण्टामा आठ सिलिण्डर ग्यास भर्नेगरेको जनाइएको छ । कोरोना महामारीका बेला स्वास्थ्यकर्मीलेसमेत अक्सिजन पाउन नसकेको जनाउँदै सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाहले अब अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए ।
उनले सेती प्रादेशिक अस्पतालले एनआरएनएबाट थप सहयोगको अपेक्षा गरेको चर्चा गरे । प्रदेश आपूर्ति व्यवस्था केन्द्रका प्रमुख डा. निरज अर्यालले सेतीमा अक्सिजन प्लान्ट स्थापनाले ठुलो हौसला मिलेको बताए ।














