काठमाडौं- निरन्तरको बर्षासँगै मंगलबारपनि मध्यम देखि भारी बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षासँगै मंगलबार महाकाली नदीमा पानीको वहाव उल्लेख्य बृद्धि हुने भएकाले सतर्कता अपनाउन वाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले जारी गरेको सूचनानुसार आज महाकालीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ भने कर्णाली र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने जनाएको छ । यता कोशी, नारायणी, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुने जनाएको छ ।
महाकाली नदी र आसपासका क्षेत्रमा पानीको सतह बढ्ने साना तथा ठाडो खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भई रहेको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित हुँदा मनसुन केही कमजोर भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।














