बैतडी- महाकाली नदीमा दुई दिनदेखि बेपत्ता दुई किशोरी अझै भेटिएका छैनन्। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले दशरथ चन्द नगरपालिका– ८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए।
उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। उनीहरू शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा महाकाली नदीस्थित मौराबाट बेपत्ता भएका थिए। खबर पाएसँगै उनीहरूको खोजीका लागि साँझ पौने ७ बजे प्रहरी परिचालन भएका थिए।
‘महाकाली नदी तटीय क्षेत्रको बैतडीसहित डडेलधुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि खोजी गरिदिन भनेका छौँ’,भारतीले भने, ‘अहिलेसम्म बेपत्ता किशोरीको अवस्था अज्ञात छ।’ दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययन गर्दै थिए।














