खलङ्गा आयुर्वेदिक औषधालय दार्चुलाबाट २०४६ सालमा डा.राम कामेश्वर ठाकुरले सुरुवाती काम गरे । उनले जागिर गर्न थालेको ३४ बर्ष भयो । धेरै बर्ष सुदूरपश्चिमका केही जिल्लामा काम गर्ने अवसर उनलाई प्राप्त भयो । उनले भने ‘कामको सुरुवाती पनि सुदूरपश्चिम र अन्तपनि सुदूरपश्चिमबाट होला जस्तो छ ।’ आयुर्वेदिक क्षेत्रमा उल्लेखनीय काम गरेका कारण जनसेवा श्री पुरस्कारबाट सम्मानित र आयुर्वेदिकमा विद्यावारिधी समेत गरी सेकेका र हाल सुदूरपश्चिम प्रादेशिक आयुवेर्दिक चिकित्सालयमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा रहेका उनीसँग निशाना न्युजले सुदूरपश्चिमको आयुर्वेदिकको अवस्था,अवसर र आम नागरिकमा पर्न गएको प्रभावका बिषयमा आधारित विचार प्रस्तुत गरेको छ ।
प्रदेश स्थापना पछि प्रत्येक प्रदेशमा प्रादेशिक आयुर्वेदिक चिकित्सालय राख्ने सरकारको अवधारण अनुसार यो अस्पताल स्थापना भएको हो । अस्पतालमा बिरामी जाँच,भौतिक पूर्वाधारका अवस्था राम्रो भएकाले सेवा पनि त्यही किसिमको हुने मैले अपेक्षा राखेको छु । मैले पनि केही न केही नयाँ काम गरौँ भन्ने सोचिरहेको छ । पछिल्लो समय यहाँ बिरामीको चाँप बढ्दै गएको तथ्यांकले पनि देखाउँछ । भीडभाड बढेको छ । अहिले पञ्चकर्ममा दैनिक ५० देखि ६० जना पुग्ने गरेका छन् । पहिले क्षारसुत्र सेवा थिएन् । केही महिना अगाडि सुरु भएको क्षारसुत्र सेवाले बिरामी बढेका छन् । विरामी भर्ना हुने अवस्था भएको छ ।
हुन त यो अस्पताल ५० बेडको हो । तर, ५० बेडको हिसावले सञ्चालन हुन नर्सिङ स्टाफ,चिकित्सक,वार्ड अनुसार स्वास्थ्यकर्मी,साधनस्रोत सबै चाहिन्छ । त्यो हुन सकेको छैन् । त्यसका लागि मन्त्रालयमा कुरा राखेको छु । सायद यो व्यवस्था छिट्टै हुन्छ होला । मैले प्रदेश र अस्पतालको दृष्टिकोणले केही सोच बनाएको छु । चिकित्सालयकै कुरा गर्दा यहाँ स्रोत साधन छ । विज्ञको रुपमा सेवा दिन सकिएको छैन् । आयुर्वेदिकमा वालरोग विज्ञ हुनु पर्ने हो । म आफै वालरोग विज्ञ भएपनि अफिसियली छैन् । स्त्री तथा प्रसूति पाउन सकिएको छैन् । क्षारसुत्रका लागि शैल्य विज्ञको लागि मैले दरबन्दी पाएको छु । विज्ञापन हुँदैछ । यो समस्या त समाधान हुन्छ । पञ्चकर्ममा पनि विज्ञ छैन् । विज्ञको अभावले पूर्णरुपमा पाँच वटा कर्म सञ्चालन गर्न सकेका छैनौँ । नाक,कान,घाँटीको विज्ञ पनि हामीसँग छैन् । प्रदेशकै अस्पताल भइसकेपछि यहाँका आम नागरिकले विज्ञताको हिसावले त्यो स्तरको सेवा पाउन भन्ने उदेश्यले अस्पतालको यत्रो संरचना बनाइएको हो । यसको तब सहि सदुपयोग हुन्छ जब विभाग अनुसार विज्ञ चिकित्सक पूरा हुन्छन् ।
आयुर्वेदलाई कसरी अगाडि बढाउने,कसरी उन्नत बनाउन सकिन्छ,यहाँका आम नागकिलाई स्वास्थ्यमा कसरी टेवा पु¥याउन सकिन्छ हरेक विषयको कुरा आउछ । हाम्रोमा केही न केही आशा पलाएको छ । दैनिक ओपिडी संख्या हिजोभन्दा आज बढ्दैछ । हाम्रो चुनौति भनेको गुणस्तरीय सेवा दिने हो । यसमा बिरामीलाई गरिने डक्टरको व्यवहार,उपचार,गुणस्तरीय औषधिको कुरा आउँछ । मैले यहाँको औषधीमा गुणस्तर अभाव देखेको छु । औषधीको गुणस्तर बढाउने कुरामा पनि जोड दिएका छौँ । निकट भविष्यमै अस्पतालले फार्मेसी सञ्चालन गर्दै छ । कमसेकम फार्मेसीबाट नाम चलेका औषधी जावस् । केही महंगो भएपनि । अर्को अवधारणा के छ भने सुदूरपश्चिममा विभिन्न बहुमुल्य जडिबुटी छन् । जुन कौडिको मूल्यमा भारत जान्छन् । त्यहाँबाट सुनको मुल्यमा यहाँ आउँछ । यहाँ दुई÷तीन ठाउँमा जडिबुटी संकलन र प्रशाधन केन्द्र विकास गर्ने र सरकारी स्तरमा प्रादेशिक आयुर्वेक औषधी उत्पादन केन्द्र बनाएर प्रदेश भरी आपुर्ति गर्न सकिन्छ ।
जसले गर्दा औषधीको गुणस्तर पनि बढ्छ । संकलन गर्नेको आयस्रोत हुन्छ । सरकारले पनि राजस्व पाउँछ । यो मेरो धारणा हो । यसका लागि यो विषय यहाँका नीति निर्माण हुने ठाउँमा पुग्नु पर्ने हुन्छ । यहाँ सम्बन्धित शैक्षिक योग्यता भएका जनशक्ति बाहिरबाट ल्याउनु पर्ने अवस्था देखिएको छ । ५० बेडको अस्पताल छदैछ । विस्तारै अस्पतालका सबै विभागहरु विकास भइसकेपछि मानवस्रोत भइसकेपछि यसलाई शिक्षण अस्पतालको रुपमा या शिक्षण संस्थाको रुपमा विकास गर्न सकिन्छ । जसले गर्दा बिरामीले पनि उपचार पायो । स्थानीयले माथिल्लो स्तरको पढ्न पनि पायो । यसका लागि नीति निर्माताले ध्यान दिने कुरा हो यो मेरो बसको कुरा त हैन् । मेरो सोँच हो । समग्रमा यो अस्पताललाई कसरी राम्रो बनाउने भन्ने मेरो प्राथमिकता हो ।














