धनगढी- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएसंगै विभिन्न दलबाट नेताहरुले आकांक्षा व्यक्त गरिरहेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसबाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको उमेदवारी रहने चर्चा चलिरहँदा क्षेत्र नम्बर ५ कै प्रदेशसभा (क) मा कांग्रेसबाट नारायण बरालले दावी गरेका छन् ।
नेपाली कांग्रेसका नेता बरालले आफू प्रदेशसभा (क) का लागि बलियो उमेदवार रहेको दाबी गरेका छन् । टिकटका लागि बराल अहिले काठमाडौँमा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढी उप महानगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष निर्वाचित भएका बराल चर्चित र लोकप्रिय वडाध्यक्षका रुपमा चिनिन्छन् ।
‘म आफू भन्दैन जनताले मेरो काम राम्रोसंग देखेका छन्,’ बरालले भने,’ ‘वडा नम्बर ८ मा कस्तो काम गरेको छु जनता र पार्टीका नेता कार्यक्रता सबैलाई थाहा नै छ, त्यस कारण जनताले अब प्रदेशसभा सदस्य बन्नुपर्छ भनेर भनिराख्नुभएको छ र मेरो दावी हो ।’ जनताका सबै मुद्दालाई मैले राम्रोसंग नियालेको उनले बताए । जनताका बिचमा भिजेको र आफनो जित्ने आधार भएकाले पार्टीले टिकट दिनेमा बराल ढुक्क देखिएका छन् ।













