काठमाडौं- आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले बताए ।
उनका अनुसार पश्चिमी वायु र भारतको आसाम आसपास बनेको न्यून चापीय प्रणालीको असरका कारण नेपालमा आगामी तीन दिनसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उनका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भएको छ । उनले भने, “अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ, बाँकी प्रदेशमा पनि आंशिक बदली छ ।”
आज राति मौसममा आंशिक मात्र बदली हुनेछ । आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा बदलीको सम्भावना रहेको मौसमविद् भेटवालले बताए । उनले भने, “आज राति वर्षाको सम्भावना छैन, आंशिक बदलीको मात्र सम्भावना छ । भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना छ ।”
भोलिको तुलनामा पर्सी देशको पूर्वी भूभागमा बढी पानी पर्ने सम्भावना रहेको मौसमविद् भेटवालले बताए । पछिल्लो २४ घण्टामा गोरखाको वीरेन्द्रचोकमा सबैभन्दा बढी ८९ मिलिमिटर वर्षा भएको मौसमविद् भेटवालले जानकारी दिए ।













