धनगढी- कैलालीको धनगढीबाट एकै दिन लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। धनगढीका विभिन्न स्थानबाट लागू औषध खैरो हेरोइनसहित पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट १ ग्राम ३१० मिलिग्राम लागू औषध (खैरो हेरोइन) सहित धनगढी–१३ बस्ने २८ वर्षीय घुमन राना बुधवार दिउँसो पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रानाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
यसै गरी धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी स्थित रिङ रोडबाट १ ग्राम १६० मिलिग्राम लागू औषधसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रतीक चौधरीसहित दुई जना बुधवार साँझ पक्राउ परेका छन्। यी दुवै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यस्तै धनगढी उपमहानगरपालिका-८ धनगढीगाँउबाट ८७० मिलिग्राम लागू औषधसहित सोही ठाउँ बस्ने २८ वर्षीय हरिलाल राना र ३४ वर्षीय रामबिलाश रानालाई पनि बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुवैको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।















