धनगढी- कैलालीमा आठ महिनामा चार हजार एक सय ४७ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । चालु आव २०८०÷८१ को फागुन मसान्तसम्म उक्त संख्याका महिलाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
सरकारी र गैह्रसरकारी गरि जिल्लामा रहेका ५९ वटा सूचीकृत गर्भपतन सेवा केन्द्रबाट २० वर्ष मुनिका तीन सय १५ र २० वर्ष माथिका तीन हजार आठ सय ३२ जनाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीकी सुरक्षित मातृत्व कार्यक्रम श्रोतव्यक्ति आशा थापाले जानकारी दिइन् ।
उनका अनुसार २० वर्ष मूनिका एक सय ६३ जनाले औषधी प्रयोग र एक सय ५२ जनाले सर्जिकल (चिकित्सकीय) माध्यमबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् । २० वर्ष माथिका दुई हजार चार सय ३५ जनाले औषधी प्रयोग र एक हजार तीन सय ९७ जना महिलाले सर्जिकल (चिकित्सकीय) माध्यमबाट सुरक्षित गर्भपतन सेवा लिएको उनले जानकारी दिइन ।
पछिल्लो समय सेवा विस्तार हुँदै जाँदा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताए । उनले भने ‘पहिले यो सेवा सीमित ठाउँबाट मात्रै थियो । अहिले सेवा विस्तार भएर स्थानीय स्तरसम्म पुगेको छ । यसले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिन्छ ।’
‘गर्भपतन निश्चित मापदण्डभन्दा बढी हुनु राम्रो मानिदैँन । गर्भपतनलाई अस्थायी साधनको रुपमा लिनु हुँदैन ।’ उनले भने ‘परिवार नियोजनका साधनमा नागरिकको पहुँच बढाउन तथा जनचेतना फैलाउन आवश्यक हुन्छ ।’
सुरक्षित गर्भपतन सेवा प्रदान गर्नका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था दुबै सूचीकृत हुनुपर्ने प्रावधान रहेको बताउँदै कार्यालय प्रमुख श्रेष्ठले भने ‘गैह्र कानुनी,अनाधिकृत,सूचीकृत नभएका स्वास्थ्य संस्थाले गर्भपतन गराउने वा गर्न प्रेरित गर्ने कुरा दण्डनीय हुन्छ ।’ गत आव २०७९÷०८० मा २० वर्षमुनिका दुई सय ७७ र २० बर्षमाथिका पाँच हजार दुई सय गरि पाँच हजार चार सय ७७ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।














