कञ्चनपुर- कञ्चनपुरबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका-४ स्थित न्यु शिवशक्ति होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ सय ४४ ग्रामसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बझाङ केदारस्यु गाउँपालिका-६ बस्ने २४ वर्षीय गोविन्द बहादुर धामी र रूकुम सानोभेरी गाउँपालिका-३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठाबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













