बैतडी– बैतडीमा पछिल्लो समयमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको छ । जिल्ला कारागार बैतडीमा रहेका १६ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको कारागारका जेलर धारा भण्डारीले बताइन् ।
केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि बुधबार पीसीआर परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको थियो । आज उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले बताइन् । कोरोना संक्रमण देखिएका १६ जना कैदीबन्दीलाई अलगै कोठामा राखिएका जेलर भण्डारीले बताइन् ।
कारागार भित्र ठाउँको अभावमा व्यवस्थापन गर्न निकै समस्या रहेको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेका छन् । कोरोनाबाट बच्नका लागि भौतिक दुरी कायम गर्नुपर्ने भएपनि कारागारमा भने कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रही आएको जेलर भण्डारीले बताइन् ।
उनका अनुसार २५ जनाको क्षमता भएको कारागारमा ९३ जनाको बसोबास छ । १६ जना कैदीबन्दीमा कोरोना पुष्टि भएसंगै बसोबास र खानपीनका लागि समेत समस्या भएको छ । कोरोना पुष्टि भएकाहरुलाई अलगै कोठामा राखिएको उनले जानकारी दिइन् ।
जिल्लामा समुदायस्तरसम्मै कोरोना फैलिसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सबैलाई स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने सुझाव दिएका छन् ।














