धनगढी– बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ की ५२ वर्षीय जलुदेवी बुढालाई कञ्चनपुरको कृष्णप्रणामी सेवाधाम अनाथ आश्रममा राखिएको छ । जलुदेवीका दुई सन्तानसहित बिहीबार खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ वडाध्यक्ष बीरबहादुर रावलले आश्रममा पुल्याएका हुन् ।
रावलले आश्रम सञ्चालक शेरबहादुर रोकाया र माता मिरा बिधुशीलाई बुझाइएको जानकारी दिए । बच्चाको भविष्यलाई मध्येनजर गर्दै उनलाई ओडारबाट उद्दार गरि कञ्चनपुर आश्रममा राखिएको वडाध्यक्ष रावलले बताए । रावलले व्यक्तिगत रुपमा १५ हजार नगद समेत आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।
जलुदेवी दुई छोरासहित गाउँपालिकाको वडा नम्बर १ लुगेनाको ओडारमा बस्दै आएकी थिइन् ।प्रहरीको सहायतमा वडाध्यक्ष रावलको पहलमा गत शुक्रबार जलुदेवीलाई उद्दार गरिएको थियो । स्थानीय भाने बुढाकी कान्छी श्रीमती जलुदेवी गम्भीर बिरामी भएपछि घर नजिकै रहेको ओडार तथा जङ्गलमा बस्दै आएकी थिइन् ।













