कैलाली- प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीले विभिन्न विशेषज्ञ आयुर्वेदिक चिकित्सकद्धारा सेवा प्रदान गर्दै आइरहेको छ ।
चिकित्सालयले आज धनगढीमा आयोजना गरेको सञ्चारकर्मीहरुसँग आयुर्वेद सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सोको जानकारी दिएको हो ।
ओपिडी सेवा, वरिष्ठ बालरोग चिकित्सक, आयुर्वेद चिकित्सक, होमियोप्याथिक चिकित्सकद्धारा चिकित्सा सेवा र प्याथोलोजी सेवाहरु प्रदान गर्दै आईरहेको चिकित्सालयले जनाएको छ । आव २०७९ मा महिला १७ हजार ३१७ र पुरुष १२ हजार ४७० ले आयुर्वेद सेवा लिएको डा. दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । आव २०८० चैतसम्ममा महिला र पुरुष गरी १९ हजार ६ सय २९ जना बिरामीले सेवा लिएको उनले बताए ।
आयुर्वेद चिकित्सा सेवाप्रति नागरिकको आर्कषण बढे पनि सेवा प्रवाहमा समस्या हुने गरेको चिकित्सालयका मेसु तथा बालरोग विशेषज्ञ डा. राम कामेश्वर ठाकुरले बताए । उनले निःशुल्क फार्मेसी सञ्चालन प्रक्रियामा समस्या हुनाको साथै विशेषज्ञ सेवाका लागि विशेषज्ञको अभाव भएको उनले बताए ।
त्यस्तै पञ्चकर्म सेवालाई गुणस्तरीय बनाउन आवश्यक जनशक्तिको खाँचो ,फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव, विदाको दिन पनि सेवा सुचारु गर्न आवश्यक जनशक्ति र कर्मचारीहरुलाई आवासको आवश्यता रहेको उनले बताए ।
कार्यक्रममा आयुर्वेद परिचय र स्वस्थ जीवनशैलीका बारेमा डा. मोहन जोशीले प्रस्तुतीकरण गरेका थिए भने शरीरमा भएका विकृत दोषलाई निर्मुल बनाउन पञ्चकर्मको विधिको उपाय र विधीका बारेमा डा. विजय पुरीले प्रस्तुतीकरण गरेका थिए । प्रादेशिक आयुर्वेद चिकित्सालयका व्यवस्थापन समितीका अध्यक्ष नरेश बिष्टले प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा आवश्यक जनशक्ती र सेवा प्रवाहलाई सहज,सरल बनाउन लागिपरेको बताए । अस्पतालको समग्र विकासका लागि सबैले लाग्नुपर्ने आवश्यक भएको उनले बताए ।













