धनगढी- कैलालीमा ४५ हजार एक सय ५५ जना बालबालिकालाई पोलियो बिरुद्धको आईपीभी खोप लगाइने भएको छ । आइपीभी खोप अभियान–२०८१ अन्तरगत जिल्लाका १३ वटै स्थानीय तहका बालबालिकालाई खोप लगाइने भएको हो ।
यही जेठ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने आईपीभी खोप अभियानमा विसं. २०७३ वैशाखदेखि विसं. २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । सो अवधिमा विश्व बजारमा खोप अभावका कारण बालबालिका खोप लगाउन बञ्चित भएकाले अहिले खोप अभियानमार्फत खोप लगाउन लागिएको उनले बताए । खोपको तयारी पूरा भएको बताउँदै उनले जिल्लाभरी ८ सय ६६ खोपकेन्द्र रहने बताए ।
खोप सुरक्षित भएकाले आफूलाई पायक पर्ने ठाउँमा गएर बालबालिकालाई खोप लगाउन अभिभावकलाई उनले आग्रह समेत गरे ।
पोलियो रोग जुनसुकै उमेरकालाई पनि हुन सक्ने र ५ वर्षमुनिका बालकबालिका बढी जोखिममा हुने भएकाले खोप लगायर पोलियो लाग्न नदिनु नै उपयुक्त उपाय भएको उनले बताए ।













