धनगढी– सुदूरपश्चिममा गौरा पर्वको रौनक सुरु भएको छ । गौरा भित्र्याइने र विसर्जन गरिने गौराघर, मठमन्दिरदेखि आँगनसम्मै चिटिक्क सजाइन थालेका छन् ।
भोक्कर, नरसिंह, बिगुल, मृदंग र दमाहाजस्ता परम्परागत बाजा बज्न सुरु भइसकेका छन् । ग्रामीण मात्र होइन, बजार क्षेत्रमा पनि किनमेल गर्नेको घुइँचोले व्यापारीलाई भ्याइनभ्याइ छ । सनातन सांस्कृतिक परम्पराअनुसार भाद्र कृष्ण पञ्चमीमा गौरा भित्र्याइन्छ ।
सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्वका रूपमा रहेको गौरा मनाउन रोजगारीका लागि विदेश तथा मुलुककै विभिन्न जिल्लामा रहेकाहरू अहिले धमाधम आफ्नो थातथलो फर्किरहेका छन् । प्रदेशकै तराई क्षेत्र कैलाली र कञ्चनपुरबाट पनि पहाडी जिल्ला फर्कनेको लर्को नै लागेको छ । विभिन्न स्थानमा गौरालाई महोत्सवकै रूपमा आयोजना गरिँदै छ । पञ्चमीका दिन बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा भित्र्याइ सुरु हुने पर्व धेरैले अष्टमीका दिन विसर्जन गर्छन् ।
कतिपय स्थानमा सातादेखि १० दिनसम्मै पर्व मनाउने गरिएको छ । बल, तिल, गुभा, धान र सौका बोटबाट गौरा बनाउने र काठको प्रतिमा स्वरूप शिव स्थापित गरी विसर्जन नहुँदासम्म हरेक दिन पूजा गर्ने परम्परा छ । बिहान–साँझ पूजा गरिने र दिउँसो गौरा घरमा विभिन्न देवीदेवताका गाथा, लोककाव्य पाठ गर्ने र डेउडा खेल्ने गरिन्छ ।
पञ्चमीदेखि हरेक दिन यसरी नै गौरा पुजन गरेर परम्परादेखि तोकिएको देवस्थलमा सामूहिक रूपमा अष्टमीका दिन विसर्जन गर्ने परम्परा छ । गौरा भित्र्याउने र विसर्जनको दिन विशेष रूपमा मनाइन्छ । भित्र्याउँदा कन्याहरूले र बिदाइ गर्दा भने बुहारीहरूले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरसम्म लैजाने गर्छन् ।
मठमन्दिरमा धामी, पुजारीहरूले गौरालाई विधिवत् विसर्जन गर्छन् । यस दिन पनि महिला र पुरुषहरू बेग्लाबेग्लै देवीदेवताका गीत गाथामा डेउडा खेल्ने गर्छन् ।














