धनगढी- कैलालीमा करिब चार लाख पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाइएको छ । गत आव २०८०/८१ मा जिल्ला भरिका ३ लाख ८३ हजार ७ सय पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. हेमराज अवस्थीका अनुसार १ लाख ९६ हजार भेडा,बाख्रालाई पीपीआर खोप,१ लाख ४१ हजार ६ सय भैँसीराँगा,गाईगोरुलाई खोरेत विरुद्धको खोप र २१ हजार १ सय बंगुरलाई क्लासिकल स्वाइन फिवर खोप लगाइएको हो ।
त्यस्तै,१० हजार गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप र १५ हजार स्थानीय जातका कुखुरालाई रानीखेत खोप लगाइएको उनले जानकारी दिए ।
विज्ञ केन्द्रले गत आवमा ५ लाख ५९ हजार पशुचौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाउने लक्ष्य राखेका थियो । केन्द्र प्रमुख डा. अवस्थीले भने ‘लक्ष्यअनुसारको खोप लगाउन सकिएको छैन् । खोपका लागि मौषम अनुकुल हुनुपर्छ । किसानको समय पनि अनुकुल हुनपर्छ । यी समस्याले गर्दा खोप लक्ष्यमा पुग्न सकेन ।’
विज्ञकेन्द्रले आव २०७९/८० मा जिल्लामा ५ लाख ५३ हजार ३ सय ९१ पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको थियो । विज्ञ केन्द्रले जिल्लामा खोप अभियान सञ्चालन गरेर पशु चौपायालाई खोप लगाउने गरेको छ ।














