धनगढी– चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार खर्ब हुने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०८०–०८१ ले त्यस्तो अनुमान गरेको हो । आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण हुनुअघि आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादन चार खर्ब चार अर्ब २८ करोड हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०७९–०८० मा सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादन ३ खर्ब ७६ अर्ब ३३ करोड ३० लाख थियो भने आर्थिक वृद्धिदर १।७८ प्रतिशत थियो । चालु आर्थिक वर्षमा ३।४१ प्रतिशतले सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र विस्तार हुने र आर्थिक वृद्धिदर ३।०६ प्रतिशत हुने अनुमान गरिएको छ । आर्थिक वृद्धिदर बढेको भए पनि राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशले गतवर्ष ७।१ प्रतिशतले योगदान गरेकोमा चालुआर्थिक वर्षमा सुदूरपश्चिमको हिस्सा ७।१ प्रतिशत नै रहने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा कृषि तथा गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः ३।४३ र २।८१ प्रतिशत रहने अनुमान छ । गतवर्ष यस्तो वृद्धिदर क्रमशः १।६० र २।०६ प्रतिशत थियो । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ०।५५ प्रतिशतले वृद्धि भई ३३ प्रतिशत हुने अनुमान गरिएको छ । त्यसैगरी गैरकृषि क्षेत्रको योगदान ६७ प्रतिशत रहने सर्वेक्षणमा उल्लेख छ । सुदुरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय गतवर्षको तुलनामा वृद्धि भएको आर्थिक सर्वेक्षणले जनाएको छ ।
चालु आर्थिक वर्षमा राष्ट्रिय प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४३२ अमेरिकी डलर रहने अनुमान गरिएको छ । प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ३।२७ प्रतिशतले वृद्धि भई एक हजार १११ अमेरिकी डलर रहने अनुमान गरिएको छ । प्रतिव्यक्ति आयमा सुधार हुँदै जाँदा सार्वजनिक वित्त व्यवस्थापनमा समेत सामान्य सुधार आएको आर्थिक सर्वेक्षणले जनाएको छ ।
‘प्रदेशको राजस्व परिचालनको क्षेत्राधिकार सीमित भए पनि सवारीसाधन कर संकलनमा देखिएको सुधारले कर राजस्वमा सुधार आएको छ । घरजग्गा रजिस्ट्रेसन शुल्क संकलनमा देखिएको स्थिरताले गैर कर राजस्व घट्न गएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘संघीय अनुदान प्राप्तिमा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको तुलनामा प्रदेशको राजस्व घाटामा सामान्य सुधार देखिएको छ । बजेट घाटा धनात्मक छ । पुँजीगत खर्चमा गिरावट आई कुल खर्च प्रभावित भएको छ ।’
सुदूरपश्चिम सरकारको बजेट सन्तुलनमा सुधार आए पनि राजस्व सन्तुलनमा गिरावट आएको सर्वेक्षणले भनेको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेट सन्तुलन कुल गार्हस्थ्य उत्पादनको तुलनामा १।२० प्रतिशतले धनात्मक र राजस्व सन्तुलन १।८० प्रतिशतले ऋणात्मक छ । सो वर्ष प्रदेशको आय र कुल गार्हस्थ्य उत्पादनको अनुपात क्रमशः ७।५१ र ६।३१ प्रतिशत छ । यो अनुपात अघिल्लो वर्ष क्रमशः ७।९५ र ५।९२ प्रतिशत थियो ।
प्रदेश सरकारको चालु आर्थिक वर्षमा पुँजीगत खर्चको दर बढेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल खर्चमा चालु खर्च र पुँजीगत खर्चको अनुपात क्रमशः ४८।२० र ५१।८० प्रतिशत रहेकोमा अघिल्लो वर्ष सोही अवधिमा प्रदेश सरकारले गरेका कुल खर्चको अनुपातमा चालु खर्च र पुँजीगत खर्चको अनुपात ५४।८१ र ४५।१९ प्रतिशत थियो ।
‘प्रदेश सरकारको खर्च गर्न सक्ने क्षमतामा भएको वृद्धिका कारण पुँजीगत खर्च समेत वृद्धि हुँदै गएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ,‘विगत ६ वर्षमा विनियोजनको तुलनामा पुँजीगत खर्च आर्थिक वर्ष २०७७–०७८ मा सबैभन्दा बढी ६९।०८ प्रतिशत भएको थियो भने आर्थिक वर्ष २०७४–०७५ मा सबैभन्दा कम ५३।०८ प्रतिशत भएको थियो ।’














