धनगढी- सुदूरपश्चिम प्रदेश सभाको बर्खा अधिवेशन शुक्रबारदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
मन्त्रीपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको बर्खा दशौं अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको बताए । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यही एउटा मात्रै निर्णय गरेको उनको भनाई थियो ।
बजेट अधिवेशनकारुपमा हेरिने प्रदेशसभाको बर्खा अधिवेशन गत जेठ १६ गतेदेखि सुरु भएको थियो । यस अधिवेशनबाट प्रदेशसभाले सरकारको नीति तथा कार्यक्रमसँगै चालु आर्थिक वर्ष २०७९र०८० कालागि नयाँ बजेट ल्याउनुकासाथै महत्त्वपूर्ण केही विधेयकसमेत पास गरेको छ ।













