बैतडी- आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि वर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका दामोदर भण्डारीको नाम सिफारिस गरिएको छ । दोस्रो संविधान सभाको निर्वाचन र प्रतिनिधि सभा निर्वाचन २०७४ मा बाम गठाबन्धनबाट विजयी भएका थिए । उनी नेकपा एमालेको प्रदेश कमिटी अध्यक्ष समेत हुन् ।
यसैगरी प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा उम्मेदवारको टुङ्गो लगाएको छ । क्षेत्र नं (क) बाट एमालेका जिल्ला अध्यक्ष समेत रहेका नेता सुरेन्द्र पाल र क्षेत्र नं (ख)बाट लिलाधर भट्टलाई उम्मेदवार बनाउने सहमति भएको छ । लिलाधर भट्ट वर्तमान प्रदेश सभा सदस्य समेत हुन् ।
बिहीबार साँझ बसेको बैठकबाट सर्बसहमतिअनुसार तीनैजनाको नाम प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने सहमति भएको नेकपा एमालेका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । एमालेले २२ गतेभित्र जिल्ला र क्षेत्रबाट उम्मेदवारको टुङ्गो लगाउन निर्देशन दिएको छ।













