बौनिया- बर्दगोरिया गाउपालिका–२, बौनियाका लक्ष्मीप्रसाद सापकोटा आफ्नै ठाउँमा विजेनश गर्न उद्देश्यले चार वर्ष साउदीअरवमा कमाएर फर्किएका थिए ।
उनले विदेशबाट कमाएर ल्याएको पूँजी आफ्नै घरमा लगानी गरी होटल खोलेका थिए । केही वर्षसम्म होटल राम्रै चल्यो । ‘८/९ वर्ष होटल चलाए, राम्रै चलेको थियो,’ उनले भने, ‘कोभिड १९ पछि होटल एकदमै नचल्ने भयो । पहिलो लकडाउनपछि केही चल्न थालेको थियो । तर दोस्रो लकडान पछि ठप्पै भयो ।’
खाना, बास, खाजाको व्यवस्था सहित आफ्नै घरमा खोलेको होटल चल्न छोडेपछि लक्ष्मीले होटल बन्द गरी किराना पसल सञ्चालन गरेका छन् । होटल सञ्चालनमा साथ दिंदै आएकी उनकी श्रीमतीले किराना पसल चलाउँछिन् भने लक्ष्मीले आफ्ना भाइ शिवराज सापकोटाको निर्माण कम्पनीसँग मिलेर ठेक्का पट्टाको काम गर्छन् ।
तर ठेक्का पट्टाको काम पनि राम्रो नचलेको लक्ष्मीले बताए । उनले ठेक्कापट्टको भुक्तानी समयमा नपाएपछि कामदार र निर्माण सामग्री उठाएको ठाउँमा पैँसा तिर्न समेत धौधौ भएको बताए । ‘ठेक्कापट्टाको काम गरेर सम्पन्न गरेपनि समयमा भुक्तानी हुँदैन,’ उनले भने, ‘ठेकेदारको पछी काम गर्ने मानिस एक सयबढी हुन्छन् । काम गरेपछि पैसा दिनुपर्छ ऋण मागेर भुक्तानी दिएको छु काम सम्पन्न भएको ठाउँबाट पैसा आएको छैन । काम गरेर खाने वातावरण नेपालमा छैन ।’
पहिलो पटक २७ महिना र दोस्रो पटक १८ महिना साउदीअरबमा बसी स्काफोल्डिङ्गको काम गरेका उनलाई अब फेरि विदेश नै जान पर्छ कि भन्ने सोच आउन थालेको छ । ‘पढाइ लेखाइ थिएन, संगै गएका साथीहरु अन्तरवार्ताबाट फोरमेन, फाइबमेनसम्म बढुवा भएर काम गर्न थाले । मैलै थ्रिमेनसम्मको पदमा काम गरे ।’ उनले भने, ‘तलब समयमै पाइन्थ्यो । तर पछि नेपालमै केही गर्छु भनेर फर्केको थिएँ । तर अहिले जीविका चलाउन किराना पसल संचालन गरेको छु । यहीबाट खानलाउन र बालबालिकालाई पढाइरहेको छु । बच्चा ठूला हुँदै गएका छन् । उनीहरुको आवश्यकता किरानाबाट पु¥याउन सकिने स्थिति छैन । ठेक्कापट्टाको काम घाटामा छ । ऋण लिएर लगानी गरेको समयमै भुक्तानी नपाउँदा तनाव छ । विदेशको कमाई र आफ्नै ठाउँको तनावले गर्दा फेरि विदेश जान मन लागिरहेको छ ।’
सापकोटाले केही महिना अघि पुनः विदेश जान खोजेको बताए । ‘विदेश जान भनि म्यानपावर कम्पनीमा गएको थिएँ,’ उनले भने, ‘उमेरले ४० वर्ष कटेपछि नयाँ ठाउँमा जान नपाइने रहेछ । पुरानै ठाउँमा जान पाइन्छ भन्ने म्यानपावर कम्पनीले बतायो । केही महिना यतै हेर्छु । निकास निस्कियो भने ठीक छ । हैन भने पुरानै ठाउँ भएपनि जान सक्छु ।’
सापकोटाले नेपालमै काम गर्दा कतैबाट पनि सहयोग नपाउने तितो यथार्थ भोगेको बताउँछन् । ‘सरकारले रोजगारी सिर्जना गर्ने कुरा गरेपनि रोजगार गरिरहेकालाई सहयोग गर्ने नीति लिएको छैन,’ उनले भने, ‘नेपालमा जति गरेपनि खानलाउन मात्रै पुग्छ । थप केही गर्न पूँजी जम्मा हुँदैन । काम गरेको भुक्तानी समेत नदिंदा युवा जनशक्ति विदेश पलायन हुनुको विकल्प हुँदैन ।’













