धनगढी- सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यहाँको मौलिक पर्वको रुपमा रहेको यो पर्व भदौ १ गते मनाउने गरिन्छ ।
ओल्के परापूर्व कालदेखि चल्दै आएको पर्व हो । आजबाट पर्वको सुरुआत हुने जानकारहरु बताउँछन् । वर्षायाम सकिएपछि पहिलो पर्वको रुपमा मनाइने ओल्केको छुट्टै विशेषता रहेको सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।
उनले यस पर्वमा आफूभन्दा ठूलालाई सम्मान स्वरुप पिडालुका पात ,फलफूल आदि ‘ओल्को’ अर्थात उपहार दिने परम्परा रहेको बताए । उनले भने ‘यो पर्वको सुरुवात पनि हो । आजबाट पर्व सुरु भएको मानिन्छ । यस पर्वमा आफूभन्दा ठूलालाई ओल्को दिने चलन छ ।’
केही मात्रामा यो पर्व विभेदकारी रहेको उनको भनाइ छ । उनले भने ‘यस पर्वमा समाजका ठूला वर्गका मानिसलाई कमजोर वर्गका मानिसले ओल्को अर्थात उपहार दिने परम्परा थियो । त्यो अहिले विस्तारै हट्दै गएको छ । यसलाई सबैको साझा पर्व बनाउन आवश्यक छ ।’
‘कुनै पनि पर्व समयानुकुल हुनु पर्छ । उनले भने ‘गलत प्रवृति हटाउँदै जानु पर्छ र सही परम्परालाई अगाल्दै मौलिक पर्वको संरक्षण गर्नु पर्छ ।’
यो पर्वलाई मेलमिलाप,भाइचाराको सम्बन्ध भएको सामाजिक पर्व बनाउनु पर्ने उनको भनाइ छ । ओल्केमा मीठो,मसिनो खाने,हातमा भङ्गेरी (मेहेन्दी) लगाउने गरिन्छ ।
ओल्केमा सागपात, मीठामसिना खानेकुरा लगेर मान्यजन तथा आफन्तलाई भेटघाट गर्ने चलन रहेको छ । आज गाउँ नजिकमा सबै जना मिलेर ‘बुढी हाल्ने’ पनि चलन रहेको छ ।
रूखका हाँगा,झ्याङ तथा बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ जसलाई ‘बुढी हालेको’ भन्ने गरिन्छ ।
जुन आज हालिउको बुढीलाई असोज १ गते बेलुका तिर पोल्ने गरिन्छ । असोज संक्रान्तिको बेलुका घर–घरबाट आगोको राँको निकाली बुढी हालेको ठाउँमा गएर बुढी पोल्ने परम्परा रही आएको छ ।
पछिल्लो समय यी परम्परा भने घट्दै गएका छन् । पछिल्ला पुस्ताका ध्यान नजाँदा मौलिक परम्परा लोप हुने अवस्थामा पुग्दै गएको जानकारहरु बताउँछन् ।














