धनगढी- धनगढी विमानस्थलमा एक यात्रु प्रहरीको टोलीबाट कुटिएका छन् । पाँच लाख नगद बोकेको भन्दै कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ घर भएका २२ वर्षीय नरेश गिरी कुटिएका हुन् । शनिवार दिउँसो कुटपिटमा परेका उनको आँखामा चोट लागेको छ ।
उनी १२ बजेको श्री एअरलाईन्सबाट काठमाडौँ जान थालेका थिए । प्रहरीले पैसा लिन नदिएपछि उनको जहाज पनि छुटेको गिरीले बताए ।गिरीका अनुसार सुरुमा वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले कुटपिट गरेका हुन। त्यसपछि अरू प्रहरीले पनि कुटपिट गरेको बताए ।
गिरी वैदेशिक रोजगारीका लागि काठमाडौँ जाँदै थिए । यता प्रहरीले जहाजमा सुरक्षाका हिसाबले एक लाखभन्दा बढी रकम लैजान नमिल्ने बताउँदै आएको छ । यद्यपि यसरी कुटपिट चाहिँ गर्नु राम्रो नरहेकाले घट्नाबारे जानकारी लिइरहेको कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।













