धनगढी- सुदूरपश्चिममा यतिबेला गौरा पर्वको रौनकता छाएको छ । शनिबार विरुडा पञ्चमीबाट सुरु भएको गौरा पर्व धुमधामकासाथ मनाइँदै छ । गौरा सुदूरपश्चिमेलीहरूको मौलिक पर्व हो । गौरा खासगरी सुदूरपश्चिमेली महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हो । यसलाई ठाउँअनुसार कतै गोरा, कतै गौरा, कतै गमरा भन्ने गरिन्छ ।
परम्परादेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको गौरा पर्वको पछिल्लो समय क्षेत्र पनि विस्तार हुँदै गएको छ । बसाइँसराइँसँगै पश्चिम तराईका कैलाली र कञ्चनपुर झरेको गौराले पछिल्लो समय संघीय राजधानीमा समेत प्रभाव जमाउन थालेको छ ।
पहिलेपहिले तराईका कैलाली र कञ्चनपुरका केही ठाउँहरूमा मात्रै मनाइने गौरा पर्व अहिले भने धेरै ठाउँहरूमा हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ । अहिले त राजधानी मात्रै होइन अस्ट्रेलिया, अमेरिकालगायतका देशमा रहेका सुदूरपश्चिमेलीहरूले त्यहाँ समेत गौरा पर्व मनाउन थालेका छन् । खासगरी पहिलेदेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरू दार्चुला, बैतडी, डडेल्धुरा, डोटीमा गौरा पर्व बढी मनाउने गरेको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।
उनले बाजुरामा गौरा नमनाउने गरेको र पछिल्लो समय विस्तार हुँदै जाँदा अछाम र बझाङका केही स्थानमा मात्रै गौरा मनाउने गरेको बताए । पहाडी जिल्लाहरूबाट बसाइँसरी कैलाली र कञ्चनपुर आएकाहरूले विगत लामो समयदेखि गौरा पर्व मनाउँदै आएको पाण्डेय बताए ।
‘कैलालीमा पहिले विसं.२०४२ सालतिर केही सीमित ठाउँमा मात्रै गौरा मनाउने गरेको देखेको थिएँ, अहिले थुप्रै ठाउँमा मनाइन्छ, टोलैपिच्छे गौरा मनाउने गरिएको छ’, उनले भने–‘अहिले यहाँ मात्रै होइन् संघीय राजधानी काठमाडौं तथा विदेशमा अमेरिका, अस्ट्रेलियामा रहेका सुदूरपश्चिमेलीहरूले पनि गौरा मनाउन थालेका छन् ।’
‘गौरा मनाउने तरिका भने ठाउँअनुसार फरकफरक रहेको रहेको छ । तर, त्यसको मूल मर्म एउटै हो’, उनले भने,–‘गौरामा नारीको सकृयता बढी हुने भएकाले यो नारीप्रधान पर्व पनि हो ।’
गौरामा महिलाहरूले पति, छोरा, छोरी सन्ततिलाई सौभाग्य प्राप्तिहोस् भनेर शिव र पार्वतीको पूजा आराधना गर्ने गरेको कैलालीको धनगढी उपमहानगरपालिका–८ शिक्षानगरका संस्कृतिका जानकार डिल्लीराज जोशीले बताए । गौरा पर्वमा शिव र पार्वतीको पूजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उनले बताए ।
खास गरी यो पर्व श्रावण कृष्ण औँसीबाट सुरु हुने जोशी बताउँछन् । ‘गौरा पर्वको आफ्नै विधि छ । पहिलो दिन अर्थात औँसीको दिन माटो ल्याउने, दोस्रो दिन घर लिप्ने,तृतीयामा फूल लेख्ने चलन छ’, जोशीले भने,–‘चौथीमा विरुणा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) केलाउने गरिन्छ, पञ्चमीमा तामाको भाँडोमा विरुणा भिजाउने गरिन्छ ।’
‘भिजाएको विरुणा व्रतालु महिलाहरूले षष्ठीको दिन नजिकैको धारा, कुवा, पोखरीमा लगेर धुने गर्छन् र त्यहीँ बलु (एक प्रकारको विरुवा) को पूजा पनि गर्छन’, उनले. भने–‘सप्तमीको दिन बिहानै महिलाहरूले धानखेतमा गएर ल्याएको अपामार्ग, बलु, साउँ लगायतका बिरुवाहरू मिलाएर बनाएको गौरा र महेश्वरको प्रतिमा (जुन भारतको गयाबाट ल्याएको काठबाट बनाइएको हुन्छ) लाई फाग,सगुन गाउँदै सँगसँगै गौरा राख्ने घरमा ल्याउने चलन छ, त्यो दिन गौराको पूजा गरिन्छ ।’
‘व्रतालु महिलाहरूले अष्टमीको दिन पूजा गर्छन,दुबो धागोको पूजा गर्नुका साथै गौरा र महेश्वरको विवाह गर्ने गरिन्छ, अनि खेल खेल्ने गरिन्छ” जोशीले भने,‘गौरामा देउडा खेल्ने, चैत, धुमारी, फाग गाउने गरिन्छ । गौरा पर्व कम्तीमा पनि पाँच दिन मनाउने परम्परा रहेको छ ।’
‘अष्टमीमा गौरा सकिन्छ तर खेल्न मन लागे केहीदिन बढाएर पनि गौरा मनाइन्छ’, उनले भने ‘अहिले मनाउने तरिका पनि फरक हुँदै गएको छ,धुमारी कम खेल्ने देउडा बढी खेल्ने चलन भइसक्यो ।’
जोशीले थपे,–‘यसको मौलिक परम्परा भनेको चैत, धुमारी, देवी देउताका मार्मिक गीतगाथा गाउने मार्मिक कुराहरू छन् ।’ गौरामा छोरीबेटी, बुढापाका महिला, पुरुषहरूले उमेरअनुसार गाउने, खेल खेल्ने अलगअलग व्यवस्था भएको पनि जोशीले बताए ।
पछिल्लो समय गौरा पर्व फैलिँदै गएको भए पनि मौलिकता भने हराउँदै गएको उनको भनाइ छ । ‘पछिल्ला पुस्तामा गौरा पर्वको मौलिकताको ज्ञान नहुँदा मौलिकता हराउँदै गएको छ । अहिले गौरा पर्व मनाइने ठाउँहरूमा डेउडा बढी प्राथमितामा रहेको देखिन्छ’,उनले भने,–‘पहाडतिर लाखे बनाएर नचाउने गरिन्थ्यो, त्यो तराईतिर देखिन्न मौलिकता हराउँदै गएको छ । कतिपयलाई गौरा भनेको के हो भन्ने पनि थाहा छैन तर रमाइलोको लागि मात्रै खेल्ने र आस्थाकै भरमा पूजा गर्छन् ।’
‘मौलिक लोक संस्कृति जगेर्ना गर्न सरकारले पनि ध्यान दिनुपर्ने हो’ उनले भने ‘हामीले पछिल्ला पिढीमा संस्कृति पुस्तान्तरण गर्न सकेनौँ, त्यो पनि एउटा कारण हुन सक्छ । महिलाहरूले परम्परा हो भनेर जोगाइरहेका छन् पुस्तान्तरण हुन सकेको छैन ।’














