पाँच महिनामा भौतिक प्रगति २५ प्रतिशत
पाँच सडकमा काम नै शुरु भएन
धनगढी । प्रदेश सरकारले धनगढीमा निर्माण गरिरहेको १९ वटा सडक बहुवर्षीय ठेक्काले गति लिन सकेको छैन ।
एक वर्षदेखि १५ महिनाको अवधि राखी लगाइएको बहुवर्षीय ठेक्का सम्झौता भएको पाँच महिनामा पनि ति ठेक्काको औषत भौतिक प्रगति २५ प्रतिशत मात्रै भएको छ । भौतिक पुर्वाधार विकास कार्यालय कैलालीले २०८० माघमा ११.५ किलोमिटरको १९ वटा सडकलाई छ वटा प्याकेज बनाएर ठेक्का आव्हान गरेको थियो । २०८१ बैशाखमा भ्याट सहित ५२ करोड चार लाख ३४ हजार ४५० रुपैयाँ लागत रहने गरी तर ठेक्का सम्झौता भएको थियो । सो सडकहरुका लागि गत आर्थिक वर्षमा २० करोड १० लाख रुपैयाँ विनियोजन गरिएपनि पाँच करोड ६५ लाख ६७ हजार ८८२ रुपैयाँ मात्रै खर्च भएको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार ठेक्का लगाएको पाँच महिनामा ति १९ वटा सडकको औषत भौतिक प्रगति २५ प्रतिशत मात्रै भएको छ भने पाँच वटा सडकमा काम नै शुरु हुन सकेको छैन । धनगढी–३ मा छ लेन सडक राष्ट्रिय वाणिज्य बैंकदेखि विशालनगर, जनता आधारभूत विद्यालय, हुँदै विरेन्द्रचोक रिङरोडसम्मको २२७ मिटर सडकमा ठेक्का सम्झौता भएको पाँच महिनासम्म पनि काम शुरु हुन सकेको छैन । धनगढी–८ धनगढी गाउँदेखि धनगढी–१२ जुगेडासम्मको ५१३ मिटर सडक खण्ड, धनगढी–७ मा कैलाली बहुमुखी क्याम्पसदेखि जोखरतालसम्मको ४ सय मिटर सडक खण्ड, धनगढी–१ मा नैनादेवी गेटदेखि पुरानो हसनपुरसम्मको ४७० मिटर सडक खण्ड र राजपुर चोकदेखि वडा नं. १३ को कार्यालय जाने २४० मिटरको सडक खण्डमा ठेक्का सम्झौता भएको पाँच महिनासम्म काम शुरु हुन सकेको छैन ।
पहिलो प्याकेज अन्तरगतका २.४६७ किलोमिटरको पाँच वटा सडक निर्माण गर्न केबिएनएस मिनु जेभीसंग १४ करोड ९६ लाख ९६ हजार ३८७ रुपैयाँमा सम्झौता भएको छ । २०८१ बैशाख १३ गते भएको सम्झौता अनुसार निर्माण व्यवसायीले २०८२ असार ३० गतेसम्म ठेक्का सम्पन्न गर्नुपर्ने छ । यस प्याकेजको औषत प्रगति ३२ प्रतिशत भएको पुर्वाधार विकास कार्यालयले जनाएको छ भने पाँच मध्ये १ सडकमा काम शुरु भएको छैन । यो प्याकेजका लागि ६ करोड रुपैयाँ विनियोजन भएकोमा एक करोड ९४ लाख ९३ हजार ४३६ रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी दिइएको छ ।
यसैगरी दोस्रो प्याकेज अन्तरगतका २.२५ किलोमिटरको चार वटा सडक निर्माणका लागि केबिएनएस मिनु एनसिपिएल जेभीसंग १२ करोड ४१ लाख ३२ हजार ८२ रुपैयाँमा २०८२ असार २० गतेसम्म ठेक्का सम्पन्न गर्न २०८१ बैशाख २४ गते सम्झौता भएको थियो । यस प्याकेजको चार सडक मध्ये दुई सडकमा काम नै शुरु भएको छैन भने यो प्योकजको औषत भौतिक प्रगति १६ प्रतिशत मात्रै भएको छ । यो प्योकजको लागि गतवर्ष पाँच करोड विनियोजन भएकोमा एक करोड १७ लाख ९५ हजार ६१२ रुपैयाँ भुक्तानी भएको छ ।
तेस्रो प्याकेज अन्तरगतका २.५६ किलोमिटरको चार सडक निर्माण गर्न मणिलेक बासुलिंग अनिल जेभीसंग १३ करोड ७१ लाख ५८ हजार ९५८ रुपैयाँमा २०८२ असार ५ गतेसम्म ठेक्का सम्पन्न गर्न बैशाख १७ गते सम्झौता भएको थियो । यो प्याकेजमा पनि दुई सडकमा काम शुरु भएको छैन भने औषत भौतिक प्रगति १६ प्रतिशत मात्रै छ । यो प्याकेजका लागि ५ करोड ५० लाख विनियोजन भएकोमा निर्माण कम्पनीले ९९ लाख ३९ हजार २०७ रुपैयाँ भुक्तानी लिएको छ ।
चौथो प्याकेज अन्तरगतका १.५३ किलोमिटरको दुई सडक निर्माण गर्न गत बैशाख १६ गते पिके विनोद सागर जेभीसंग चार करोड १७ लाख नौ हजार १७७ रुपैयाँमा आउँदो चैत ८ गतेभित्रै ठेक्का सम्पन्न गर्न सम्झौता भएको छ । प्रिमिक्स कार्पेटिङ विभिबाट कालोपत्रे गर्न गरिएको ठेक्का सम्झौताको प्रगति ३५ प्रतिशत भएको छ । यो प्याकेजको लागि एक रोड ५० लाख विनियोजन भएकोमा गतआर्थिक वर्षमा ८६ लाख १४ हजार ९१ रुपैयाँ मात्रै खर्च भएको छ ।
पाँचौं प्याकेज अन्तरगतका १.७७५ किलोमिटरको दुई सडक निर्माण गर्न शिशिर एण्ड बसन्त विश्वरुप के आर जेभीसंग तीन करोड ९८ लाख ९३ हजार ५२८ रुपैयाँमा गत बैशाख २४ गते सम्झौता भएको छ । आउँदो चैत २४ गते ठेक्का सम्पन्न हुने ठेक्का लगाइएको भएपनि यो प्योकजको प्रगति ३५ प्रतिशत मात्रै भएको छ । गतवर्ष एक करोड ५० लाख विनियोजन गरिएको भएपनि ४५ लाख ९० हजार ८८२ रुपैयाँ मात्रै खर्च भएको छ ।
छैठौं प्याकेज अन्तरगतका ९२० मिटरको दुई सडक निर्माण गर्न ज्ञान पन्त जेभीसंग गत बैशाख २० गते २ करोड ७८ लाख ४४ हजार ३१७ रुपैयाँमा सम्झौता भएको थियो । आउँदो चैत २० गतेसम्म हुने गरी लगाइएको ठेक्को प्रगति पाँच महिनामा २० प्रतिशत मात्रै भएको छ । यस प्याकेजको लागि गतवर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको भएपनि २१ लाख ३४ हजार ६५४ रुपैयाँ मात्रै खर्च भएको विवरण भौतिक पुर्वाधार विकास कार्यालयले उपलब्ध गराएको छ ।
सय सडकमा १५.८३ किलोमिटर नाली समेत निर्माण गरिने कार्यालयले जनाएको छ । ठेक्का सम्झौता गर्न ढिलो भएको कारणले गतवर्ष बजेट खर्च हुन नसकेको हो । वर्खा र सडक क्षेत्राधिकार विवादका कारण सडक निर्माणले गति लिन सकेको छैन । कार्यालयका ईञ्जिनियर विनोद खड्काले सम्झौता भएपछि निर्माण व्यवसायीले एक महिना मात्रै काम गर्न पाएको, त्यसपछि वर्खा लागेर काम हुन नसकेको र पछिल्लो समयमा नदीमा निर्माण सामाग्री बन्द रहेकोले कामले गति नपाएको बताए । उनले चालु आर्थिक वर्षको बजेट कस्तो आउँछ भन्ने कुराले पनि समयमा काम सम्पन्न हुने विषय अनिश्चित भएको बताए । उनका अनुसार ति सडकमा अहिले नाली निर्माणको काम मात्रै भइरहेको छ ।














