धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले दाेस्राे पटक चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारकाे बजेट ल्याएको छ ।
अघिल्लो सरकारले असार १ गते ल्याएको बजेट पास हुन नसकेपछि अहिलेको सरकारले आज प्रदेश सभामा परिमार्जन सहित दाेस्राे पटक बजेट प्रस्तुत गरेको हो ।
प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सोमबार प्रदेश सभाको बैठकमा चालु आवको बजेट प्रस्तुत गरेका छन् ।
उनले चालु आवका लागि चालु खर्चतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरेको जानकारी दिए ।
चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनतर्फ १ अर्ब ६ करोड ७० लाख १५ हजार, संघीय सरकारको राजस्व बाँडफाँडतर्फ ९ अर्ब ७९ करोड १९ लाख, संघीय रोयल्टीबाट चार करोड ४ लाख ५५ हजार, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७२ करोड २७ लाख, गत वर्षको बजेटबाट वचत हुने ६ अर्ब १५ करोड ८३ लाख, संघीय सरकारले दिने सर्शत अनुदानतर्फ तीन अर्ब १३ करोड ३४ लाख, समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड ६० लाख हुने अनुमान गरिएको छ ।
अघिल्लो सरकारले पनि सोही आकारको बजेट ल्याएको थियो । संविधान विपरीत प्रदेश सरकारले दोस्रो पटक बजेट ल्याउन लागेको भन्दै प्रतिपक्षी दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद भने प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।













