धनगढी । नेकपा एमाले पार्टीको प्रवासी नेपाली संघ भारतमा आवद्ध प्यारेलाल मल्लले एमाले पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमल्टारमा एक कार्यक्रमका बिच मल्ल माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
पछिल्लो पटक एमाले पार्टीको कार्यशैली मन नपरेको , जनतालाई सुशासनको अनुभुती समेत दिलाउन नसक्दा आफूले दिक्क भएर पार्टी परित्याग गर्नुपरेको मल्लले बताए । लामो समय भारतमा रहेर एमाले पार्टीलाई सहयोग गर्दै आएका मल्ल एक व्यापारी समेत हुन । उनी भारतमा रहँदा डाइमन्ड व्यावसाय संचालन गर्दै आएका थिए । हाल नेपालमा समेत व्यवसाय गर्दै आएका छ्न ।
माओवादी पार्टीले मात्र भ्रष्टाचारको अन्त्य र जनतालाई सुशासन दिनसक्ने उनको भनाइ थियो । उनलाई पार्टीमा स्वागत गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले त्यसको अन्त्यका लागि उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गराउन आफू लागिरहेको बताए ।
पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने समेत अध्यक्ष प्रचण्डले बताए ।













