धनगढी- धनगढीको विकासमा सञ्चारकर्मीको भूमिका बिषयक छलफल कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा आज धनगढीमा छलफल कार्यक्रम गरिएको छ ।
कार्यक्रमा सहभागीहरुले धनगढी उपमहानगरपालिकाको विकासका बारेमा आआफ्ना धारणा राखेका थिए । कार्यक्रमा धनगढी–१८ का वडाध्यक्ष भूवन रिजालले धनगढीमा भए गरेका विकासका कामका बारेमा आफ्ना धारणा राखेका थिए ।
उनले उपमहानगरले विकाससँग थप नयाँ चिज दिन खोजेको बताए । उनले भने ‘धनगढी अहिले अन्य पालिकाको पनि सिकाइको गन्तव्य हो भन्ने बुझाई राखेर हामीलाई पछ्याउन खोजेको हामीले बुझेका छौँ ।’
उनले उपमहानगरले सीमान्तकृत वर्गसम्म सेवा वितरण पु¥याउन लागेको बताए । उपहानगरले युवाहरु विदेशिरहेका बेला युवालाई स्वरोजगार बनाउनका लागि केही कदम अगाडि सारेको उनले बताए ।
शिक्षा,स्वास्थ्य,सरसफाई,रोजगारी लगायतका क्षेत्रमा उपमहानगरले कामहरु गर्दै आएको बताउँदै उनले यसको नतिजा विस्तारै देखिने बताए ।
वडा नं. ६ का वडाध्यक्ष भागिराम चौधरीले जनताको पहिलो आवश्यकता शिक्षा,स्वास्थ्य रोजगारी भएको बताउँदै भौतिक विकास भएर मात्रै नपुग्ने धारणा राखे । अर्थतन्त्र बलियो भए मात्रै देशको विकास हुने उनको भनाइ थियो । उनले धनगढीमा आवश्यकताको आधारमा विकास सुरु गरिएको बताए ।
वडा नं. ३ का वडाध्यक्ष राजबहादुर ऐरले धनगढीको विकास मोडेल अन्य पालिकाले पनि अनुसरण गरिरहेको बताए । उनले स्थानीय विपन्न र पहुँच नभएका नागरिकको नजिकको सरकार बनेको बताए । उनले हिजो भन्दा आज धनगढी विकासको हिसाबले फरक हुँदै गएको दाबी गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हेमकर्ण विकले उपमहानगरले पत्रकारको क्षमता विकासका लागि पनि ध्यान दिनुपर्ने बताए । उनले सञ्चार माध्यमको प्रबर्धन,सम्बर्धनमा ध्यान जान आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष धनगढीमा भए गरेका विकासका बारेमा समिक्षा गर्न आवश्यक भएको बताए । ग्रामीण क्षेत्रका जनताका विभिन्न समस्या भएको गुनासा भएको बताउँदै केही कुरामा उल्लेख्य सुधार पनि भएको उनले बताए । महासंघका प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासचिव रामसिंह ठगुन्नाले गरेका थिए ।













