धनगढी- कैलालीमा खैरो हेरोइनसहित ७ जना पक्राउ परेका छन् । लागूऔषध ब्युरो धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले ७ जनालाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो।
जिल्लाको धनगढी उपमहानगरपालिका–४ भाटभटेनी नजिकबाट २७ वर्षीय महेश भट्टलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१२ पट्टीघाटबाट १८ वर्षीय राजेश राना, सोही स्थानका २५ वर्षीय रामगोपाल रानालाई १ ग्राम ३४० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ। यस्तै जानकी गाउपालिका–९ खैरीफाँटाका १९ वर्षीय सचिन रावललाई ३ ग्राम ९८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको जनाइको छ।
यसैगरी धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय नजिकबाट सोही स्थानका २८ वर्षीय गोपाल रामजाली मगर ५१० मिलिग्राम र वडा नं. ८ संगम टोलका २८ वर्षीय सुरेश चौधरी १ ग्राम ५९० मिलिग्राम तथा वडा नं. १ का २८ वर्षीय मनिष चौधरी १ ग्राम ८४० मिलिग्राम लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।














