धनगढी- सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले दार्चुला बाढीपहिरोको विषयमा विभिन्न चार वटा निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आइतबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरो पीडितको व्यवस्थापनका लागि चार वटा निर्णय गरेको हो ।
शुक्रवार राति परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो मृत्यु भएकाहरुको परिवार तथा पूर्ण वा आंशिक घर क्षति भएका परिवारलाई प्रदेश विपद् व्यवस्थापन तथा राहत वितरण निर्देशिका, २०७६ बमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै, जिल्ला विपद् व्यवस्थापन समिति, दार्चुलाबाट माग भएबमोजिमको बाढीहिरो पीडित÷प्रभावितहरुलाई राहत सामग्री यथाशिघ्र उपलब्ध गराउने, विपद्का कारण जनजीवन विच्छेद भएका स्थानमा राहत सामग्री पु¥याउन संघीय सरकारसँग समन्वय गरी आवश्यक दुवानीको व्यवस्था गर्ने र बाढीपहिरोबाट मृत्यु भएकाहरुप्रति श्रद्वाञ्ली व्यक्त एंव घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले पूर्ण रुपमा क्षति भएका घरहरुलाई ५० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरिएको बताए । उनले पीडित परिवारलाई राहत समाग्रीमा कुनै पनि कमी नराख्ने गरि काम गर्न विभिन्न निकायलाई आग्रह समेत गरे ।
नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिमका अध्यक्ष दिलबहादुर बुढाले पीडितहरुलाई खाद्यान्नलगायत ५० हजार रुपैयाँ वितरण गरेको बताए । दार्चुला जिल्ला विपद् व्यवस्थापनलाई माग अनुसार राहतको व्यवस्थापन गरिने उनले बताए । जोखिमयुक्त बस्तीहरुमा सूचना प्रचार–प्रसारलाई तिब्र्रता दिने कार्य भइरहेको उनले बताए ।













