धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले देशको अर्थतन्त्रमा उद्योगको ठूलो भूमिका रहेको बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘पछिल्लो समय उद्योगहरु जुन गतिमा अगाडि बढ्नुपर्ने हो । त्यो गतिमा बढ्न सकेका छैनन् । सरकारले उद्योग क्षेत्रलाई अगाडि बढाउने नीति अवलम्बन गरेको छ ।’
उनले उद्योगका क्षेत्रमा आफूहरु संवेदनशील भएको उनले बताए । उनले भने ‘हामीले शान्ति सुरक्षा,अमनचयन कायमसँगै व्यापार व्यवसायलाई पनि प्रवद्र्धन गर्नुपर्ने छ । यी सबै कुरालाई मध्यनजर गरेर काम गर्छौ ।’
उनले यहाँको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने सन्दर्भमा पनि छलफल गरेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघले प्रजिअ हमाललाई रात्रिकालिन व्यवसायको समय बढाउन सहजिकरण गरिदिनुपर्ने लगायतका माग राखेका थिए ।
संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव ओमबहादुर बिष्टले गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत मन्तव्य राखेका थिए ।













